News Griha :: न्यूजगृह
विद्यालयलाई यस्तो निर्देशन

लुम्बिनी— बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संस्थागत विद्यालयलाई कुनै प्रकारका शुल्क वृद्धि नगर्न निर्देशन दिएका छन् ।

उपमहानगरपालिकाको आयोजनामा बुधबार नगरभित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकसँगको छलफलमा प्रमुख पाण्डेयले विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा शहर बनाउनका लागि संस्थागत विद्यालयले गुणस्तर र सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताए ।

उनले कक्षा ११ को भर्ना सुरु हुनुअघि संस्थागत विद्यालयसँग आयोजित छलफलका क्रममा विद्यार्थीलाई पोशाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागु नगरी स्वेच्छिक हिसाबले खरिद गर्न दिनका लागि निर्देशन दिए ।

‘विद्यालय सुधार गर्नका लागि पहिले विद्यालयको प्रशासनिक कुरामा सुधार ल्याउनुस्’, उनले भने, ‘विद्यालयभित्रैबाट बाध्यकारी हुने अवस्था सिर्जना नगर्नुहोस् ।’

उनले विद्यालयले गुणस्तर वृद्धि र प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताउँदै विद्यालयको क्षमता, भौतिक पूर्वाधार, ल्याब, शिक्षकको जनशक्तिलाई ध्यानमा राखेरमात्रै विद्यार्थी भर्ना गर्न आग्रह गरे ।

उनले संस्थागत विद्यालयले मनपरी शुल्क लिँदै आएको गुनासो आएको भन्दै मनपरी शुल्क लिनेलाई कानुनी दायरामा ल्याएर आवश्यक कारबाही अगाडि बढाउने बताए ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०७:०१
Weather Update