साँगामा बस दुर्घटनामा १० जना घाइते

काभ्रे— भक्तपुरको सूर्यविनायक नगरपालिका–१० साँगामा बुधबार बस दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएअनुसार काठमाडौंबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ९३९६ को काभ्रे–काठमाडौं नगर बस दिउँसो सवा ३ बजेतिर साँगाको पुलमुनि भीरबाट करिब ३० मिटर खसेर दुर्घटना भएको हो ।
घाइतेहरुको अवस्था सामान्य रहेको र सबैको पहिचान खुलेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
उनका अनुसार घाइतेहरु १० जनामध्ये भक्तपुरस्थित इवामुरा अस्पतालमा ३ जना, मध्यपुर अस्पतालमा ६ जना र बनेपास्थित शिर मेमोरियल अस्पतालमा १ जनाको उपचार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, साउन ३, २०८० १९:४२