News Griha :: न्यूजगृह
ढल्यो भद्रकुमारी घले सदन

काठमाडौं — काठमाडौं महानगरपालिकाको डोजर खुब खटिन्छ । कहिले धोबीखोला भित्र पस्छ त कहिले अवैध संरचना  भत्काउने भन्दै आवासीय तथा विभिन्न संरचना भित्र पस्छ । तर उस्ले यसरी भत्काउँदा पूर्वसूचना दिने नगरेको गुनासो पनि बढ्न थालेको छ ।

dozar-kathmandu1689757996.jpeg

बुधबार काठमाडौंको अनामनगरस्थित भद्रकुमारी घले सेवा सदन भत्काइयो । सार्वजनिक जग्गामा निर्माण गरिएको भन्दै महानगरको डोजरले भत्कायो । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सेवा सदनको भवन भत्काउँदा कानूनी राज्यमा कानूनी व्यवस्था यही हो भन्दै भावनामा बग्ने छुट आफूहरूलाई नभएको बताए ।  

Rajunath Pandey ktm metro police1689757998.jpg
राजुनाथ पाण्डे

उनले भने, ‘यो सार्वजनिक जग्गा हो, यस्ता जग्गामा रहेको संरचना भत्किन्छ । कानूनी राज्यमा कानूनी व्यवस्था यही हो । भावनामा बग्ने छुट हामीलाई छैन् । वृद्धहरूको कोही छैन् आफ्नो कोही छैन भने हामी मानव आश्रम सेवामा लगेर राख्ने व्यवस्था मिलाउँछौं ।भद्रकुमारी आमाले दुई घण्टा अगाडि फोन गरेर समर्थन गर्नु भएको छ ।’ 

भद्रकुमारी घले सेवा सदनका अध्यक्ष दीपक घलेले भने आफूहरूले देख्ने गरी सूचना टाँस नगरेको गुनासो गरे । सार्वजनिक स्थलमा सूचना टाँस गर्नु पर्ने दायित्वबाट पनि महानगर पन्छेर अमानवीय काम गरेको आरोप पनि घलेले लगाए । 

Dipak Ghale1689765050.jpg
दीपक घले

‘तीन महिनामा मुखपत्रमा उहाँहरूले लेखेर सूचना प्रवाह गरेर सूचित गरेको थियो भन्ने कुरा आयो तर हामीलाई कुनै लिखित सूचना दिएको छैन । सार्वजनिक व्यक्तिको लोभमा हो भने यहाँसम्म कि जिल्ला अदालतले पनि कुनै व्यक्तिलाई सूचना दिनु पर्छ भनेर घरमा वा सार्वजनिक स्थलमा लगेर टाँस्छ भने नगरपालिकाले टाँस्नु पर्ने दायित्व हैन ? हामीलाई सूचना गर्नु पर्ने हैन । मुखपत्रको भरमा हुन्छ । हामीलाई जानकारी नै छैन् । तीन दिनको समय दिएर आज यस्तो गरियो,’ उनले भने ।

bhadra kumari sewa sadan1689757997.jpeg

सेवा सदनमा रहेकी ८० वर्षीया चन्द्र मातले भने आफूहरूलाई यो उमेरमा सदनबाट नउठाउन हार गुहार गरिन । उनले भनिन्, ‘यस्तो अन्याय नगरिदिनु होला । सानै उमेरबाट यहाँ बसेको । ८० वर्ष  भयो यहाँ बसेको । अब यहाँबाट अन्त कहिँ नजाने ।’

Chandra Mata1689765050.jpg
चन्द्र मात

स्थानीय श्याम मगरले भद्रकुमारी घलेले पञ्चायतकाल देखि नै जनपक्षीय र समाजसेवी काम गरेकोले सेवा सदन भत्काउनु उचित नभएको बताए । 
उनले भने, ‘सेवा सदनमा धेरै आश्रित छन्, भद्रकुमारी घलेले पञ्चायतकालमा पनि धेरै राम्रो काम गर्नुभयो, यो सदन भत्काइहाल्नु उचित भने थिएन । ’ 

Shyam Magar1689765172.jpg
श्याम मगर

सेवा सदन भत्काइएको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेका छन्  । पूर्व सूचना नदिएको महानगरले कवाडीलाई भने पूर्व सूचना दिएर सामान उठाउन बोलाएको आरोप पनि सदन आसपासका सर्वसाधारणले लगाएका छन् ।  

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १६:४८
Weather Update