News Griha :: न्यूजगृह
उपनिर्वाचनमा बारा २ मा चुनाव लड्छौ : सीके राउत

काठमाडौं— जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले नछोड्ने स्पष्ट पारेका छन् । 

बुधबार माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहलाई पार्टीमा प्रवेश गराउन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता राउतले त्यस्तो बताएका हुन् । अध्यक्ष राउतले आफ्नो पार्टीले कुशवाहलाई उम्मेदवार बनाउने र उनको जित हुने प्रवल सम्भावना रहेको दाबी समेत गरे ।

मधेश प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीलाई दिने सहमती सत्तारुढ गठबन्धनमा भएको उल्लेख गर्दै उनले त्यसलाई बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनसँग जोडेर नहेर्न समेत पटकपटक आग्रह गरे । अध्यक्ष राउतले बैकल्पिक नयाँ राजनीतिक दलहरुलाई आफ्नो पार्टीको पक्षमा मतदान गरी बारा क्षेत्र नम्बर २ बाट कुशवाहलाई जिताउन आग्रह समेत गरे । 

ठूला राजनीतिक दलहरु पदका लागि मिल्ने गरेकाले नयाँ राजनीतिक शक्तिहरुले पनि मिलेर सो चुनावमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताउनुपर्ने उनको भनाई थियो ।

'वैकल्पिक सबै राजनीतिक पार्टीहरुले के बुझ्नु पर्छ भने सत्यको पक्षमा उभिने हो । यदि हामीहरु यसरी नै विभाजित भईरहने हो भने माथिका ठूलो दलहरुले के गरिरहेका छन् । तपाईंहरुले बुझ्‍नु भएकै छ । उनीहरुको सिद्धान्त नमिले पनि पदकै लागि उहाँहरु जहिले पनि मिल्नु हुन्छ । तर बैकल्पिक राजनीतिक शक्तिहरुले चाँही किन सकिरहेका छैनन ? त्यो सोच्नु पर्छ । हामी जति पनि बैकल्पिक नयाँ राजनीतिक शक्तिहरु छौं । तिनीहरु मिलेर अव शिवचन्द्र कुशवाहजीलाई पछिल्लो निर्वाचनमा पनि उहाँले साँढे ३ सय झिनो मतले पराजित हुनु भएको थियो । उहाँले जित्ने प्रवल सम्भावना भएकाले त्यसमा अन्यथा भोट काटने काम नगरौं ', अध्यक्ष राउतले भने, 'यसरी हामी आफैं लडदै गयौ भने त ती पुराना शक्तिहरुले नै जित्छन । अत्याचार गरिराख्छन् । त्यही भएर मेरो अनुरोध छ–बैकल्पिक शक्तिहरु, नँया शक्तिहरु जति पनि छन् । उहाँहरुले जनमत पार्टीका साझा उम्मेदवारलाई नै समर्थन गर्नुहोस् । सत्यलाई विजयी गराउन लाग्नुहोस भनेर अनरोध पनि गर्न चाहन्छु । त्यहाँ यात जनमत पार्टी वा जनता समाववादी पार्टीको चर्चा छ । त्यहाँ जसपाले षडयन्त्र रचेको हो । जनमत त्यो षडयन्त्र तोडनका लागि हो । त्यहाँ सत्य र असत्यको दुईटा पक्ष मात्रै छ । अहिले पनि भएको सम्झौता अनुसार जनमत पार्टीलाई मधेश प्रदेशको मुख्यमन्त्री दिनु भनेको हो । त्यसलाई हामी बारा २ सँग जोडन पनि चाहन्नौं ।'

अध्यक्ष राउतले सत्यको पक्षमा लाग्न पनि बारा २ को उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको जिकीर समेत गरे ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १३:४८
Weather Update