
काठमाडौं— काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले बुधबारबाट साताव्यापी ‘यात्रुसँग दुई मिनेटʼ कार्यक्रम सुरु गरेको छ ।
यात्रुसँग दुई मिनेट चेतनामूलक कार्यक्रम रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए । सुन्धारा स्थित काठमाडौं मल अगाडि रहेको बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्री समेत वितरण गरेर डीआईजी पोखरेलले कार्यक्रमको औपचारिक सुरुवात गरेका छन् ।
मादक तथा र लागूपदार्थ सेवन गरेर सवारी साधन चलाएको शंका लागेमा, सवारी साधनमा बढी भाडा लिएमा तथा दुर्व्यवहार गरेमा र सवारी साधनमा आरक्षण सिटको पालना नगरेमा/नगराएमा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न डीआईजी पोखरेलले यात्रुलाई अनुरोध गरे ।
यात्रुको आवत जावत बढी हुने स्थान न्युरोड, शान्ति वाटिका, कालिमाटी, कलंकी, महाराजगञ्ज, चाबहिल, गौशाला, कोटेश्वर लगायतका भक्तपुर र ललितपुरका विभिन्न बस बिसौनीमा आगामी १० गते सम्म यो कार्यक्रम सञ्चालन गरिने छ ।