काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा निस्कने भएका छन् ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जाने भएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको भ्रमण स्वीकृत गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
प्रधानमन्त्री दाहालसँगै कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल पनि साउन ६ गते बेलुका इटाली प्रस्थान गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री दाहाल साउन १० गते राति स्वदेश फर्कने छन् । समिट जुलाई २३ देखि २६ सम्म इटालीमा हुँदैछ ।
त्यस्तै, मन्त्रिपरिषद्को बैठकले शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा. रविन मल्ललाई नियुक्त गर्ने निर्णय गरेको छ । मल्ल सोही अस्पतालमा कार्यरत छन् ।
नयाँ कम्पनी दर्ता र कम्पनीको पूँजीवृद्धि गर्दा लाग्ने शुल्कमा छुट दिने मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्दै शुल्क तथा दस्तुर छुट सम्बन्धको सूचना प्रकाशन गर्ने निर्णय गरेको छ ।