
काठमाडौं— ललिता निवासको सरकारी जग्गा ब्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते गरेको कसुरमा थुनामा रहेका सञ्चार सचिव कृष्णबहादुर राउतसहित ४ जनाले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा बुधबार सुनुवाइ हुँदैछ ।
उक्त रिटमा मङ्गलबार सुनुवाइ नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । सोमबारबाट सुरु भएको सुनुवाइ मङ्गलबारसम्म पनि नसकिएपछि हेर्दाहेर्दैमा राखी बुधबारका लागि पेशी तोकिएको हो ।
सञ्चार सचिव राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले आफूहरूलाई गैरकानुनी थुनामा राखिएको बन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए ।
उक्त रिटको पेशी न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको छ । थुनामा रहेकाहरूले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पनि भ्याकेट निवेदन लिई पक्राउ नगर्न अन्तरिम आदेश लिएका १७ जना आरोपितविरुद्ध सर्वोच्च अदालत पुगेको थियो । सबै रिट र निवेदनलाई एकैसाथ लगाउमा राखी सुनुवाइ भइरहेको छ ।