
जम्मुकश्मीर— भारत प्रशासित जम्मुकश्मीरमा सोमबार भएको संयुक्त सुरक्षा कारबाहीमा चार जना आतंकारी मारिएकाे भारतीय सेनाका अधिकारीहरूले मंगलबार बताएका छन् ।
भारतीय सेनाको विशेष बल राष्ट्रिय राइफल्स र जम्मुकश्मीर पुलिस र अन्य बलसहितको संयुक्त अभियान सोमबार पुन्चको सिन्धारा क्षेत्रमा सञ्चालन गरिएको जनाउँदै उनीहरूले राति करिब ११:३० बजे आतंकारीहरूसँग पहिलो मुठभेड भएको बताएका छन् ।
सोही रात निगरानीका अन्य उपकरणसहित ड्रोन तैनाथ गरिएको थियो । मंगलबार बिहानैदेखि सुरक्षा बल र आतंकारीबीच भीषण गोली हानाहान भएको थियो । संयुक्त कारबाहीमा मारिएका आतंकारी विदेशी आतंकारीवादी भएको अनुमान गरिएको छ ।
उनीहरुको पहिचान स्पष्ट भइनसकेको र थप जानकारीको प्रतीक्षा गरिएको भारतीय सेनाले जनाएको छ । गत आइतबार पुन्च जिल्लाको नियन्त्रण रेखा (एलओसी) मा आतंकारीवादीहरूको घुसपैठको प्रयासलाई भारतीय सेनाले विफल पारेको थियो ।
आइतबार रातिदेखि सोमबार बिहानसम्म पुन्च नदी नजिकै एलओसीमा भएको दोहोरो झडपमा दुई जना आतंकारी मारिएका थिए । सुरक्षाकर्मीले आतंकारीबाट एके ७४ राइफलसहित भारी मात्रामा हतियार र गोला बारुद नियन्त्रणमा लिएका थिए ।