News Griha :: न्यूजगृह
शैक्षिक संस्थामा तालाबन्दी नगर्ने विद्यार्थी संगठनको प्रतिबद्धता

काठमाडौं— शैक्षिक संस्थामा तालाबन्दी नगर्ने ६ विद्यार्थी संगठनहरूले प्रतिबद्धता जनाएका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, नेपाल, अखिल (छैठौं) ले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिबद्धता जनाएका हुन् ।

शिक्षामा व्यापारीकरण र निजीरणका कारण शैक्षिक संस्थाहरू लथालिङ्ग भएको संयुक्त विद्यार्थीको ठहर छ । विद्यार्थीहरूले लामो समयदेखि रोकिएको संघीय शिक्षा ऐन तत्काल जारी गर्नसमेत माग गरेका छन् ।

विद्यार्थी संगठनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई आफ्नो १८ बुँदे माग पत्र बुझाउँदै व्यापारीकरण, निजीकरण र माफियाकरणका कारण हाम्रा शैक्षिक संस्थाहरू लथालिङ्ग भएका कारण नयाँ पुस्ताका विद्यार्थीहरूमा विश्वविद्यालयप्रति विकर्षण पैदा हुँदै आएको प्रति ध्यानाकर्षण गराएका छन् ।

विद्यार्थीहरूले साेमबार बुझाएको माग पत्रमा भनिएको छ,‘शिक्षा गुणस्तरीय नहुँदा र यसले जीवन उपयोगी रोजगारीको प्रत्याभूति नगर्दा आज ठूलो मात्रामा पुँजी र प्रतिभा पलायन भइरहेको छ । यो प्रवृत्तिले आम जनजीवनमा ठूलो निराशा र असन्तुष्टि सिर्जना गरेको छ । त्यसकारण नेपालको संविधानले मौलिक अधिकारको रूपमा सुनिश्चित गरेको विद्यालय शिक्षा र उच्च शिक्षालाई वर्तमान सन्दर्भमा विश्वव्यापीरूपमा प्रतिस्पर्धा गर्न सक्ने सर्वसुलव, गुणस्तरीय र रोजगारमूलक बनाउन विद्यमान शिक्षा प्रणालीमा सुधारको आवश्यकता रहेको छ । शिक्षामा देखिएका समस्या समाधान गर्न हामी विद्यार्थी संघ संगठनहरू रचनात्मक र सहयोगी भूमिका खेल्न तयार रहेको जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १८:११
Weather Update