News Griha :: न्यूजगृह
कांग्रेसले एक वर्षमा ५ देखि ७ लाख नयाँ सदस्य बनाउने 

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी एक वर्षमा ५ देखि ७ लाख नयाँ सदस्य बनाउने कार्ययोजना अघि सारेका छन् ।

मंगलबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा उनले आगामी साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घर—घर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने योजना प्रस्तुत गरेका हुन् । 

‘कांग्रेसको क्रियाशील सदस्यता वितरण अनलाइनमार्फत गर्ने कुरा हामीले सुरु गर्‍यौँ । यसलाई प्रभावकारी बनाउने, संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आकर्षण गर्न र समाजको विविधता झल्कनेगरी यो वर्षको साउन २० गतेदेखि २०८१ असार ३१ गतेसम्म घर—घर जाऊँ पार्टी सदस्य बनाऊँ भन्ने राष्ट्रिय अभियान सुरु हुने छ । ५ लाखदेखि ७ लाख सदस्यता बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिने छ,’ थापाले भने । 

उनले क्रियाशील सदस्यताको वितरण वर्षभरि नै गर्नेगरी यसका लागि जिल्ला कार्यसमितिलाई फारम पठाइसकिएको बताएका छन् । इच्छुक साथीहरूले प्रक्रिया पुरा गरेर पार्टीको क्रियाशील सदस्यता लिन सक्ने उनको भनाई । 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १६:३८
Weather Update