News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रिय सदस्यहरूलाई वर्षमा एक महिना छुट्टी 

काठमाडौं— नेपाली कांग्रेस पार्टीले केन्द्रिय सदस्यहरूलाई एक महिनामात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेश भएको छ । 

पार्टी केन्द्रिय कार्यालय सानेपामा मङ्गलबारदेखि शुरु केन्द्रिय समिति बैठकमा सांगठनिक तालिका प्रस्तुत गर्दै महामन्त्री गगन थापाले केन्द्रिय सदस्यहरूलाई असार महिनामा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेश गरेका हुन् । उनले बाँकी ११ महिना नै पार्टी नेता तथा कार्यकर्ताहरू पार्टी काममा लाग्नुपर्ने तालिका पेश गरेका हुन् ।

असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै थापाले पार्टी नेता, कार्यकर्ताहरूले सो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताए । त्यस्तै आइपर्न सक्ने प्राकृतिक विपद्हरूको सामना गर्नका लागि पनि पार्टीपङ्क्ति तयारी अवस्थामा रहनुपर्ने उनको भनाई छ ।

थापाले भने, ‘असार महिनामा किसानको समय हो । किसानको समस्यामा सहजीकरण गर्ने । समुदायलाई अप्ठ्यारो परेको बेलामा तयारी हुन्छौँ । केन्द्रिय सदस्य साथीहरूले वर्षमा जम्मा एक महिना मात्रै छुट्टी पाउनुहुन्छ । त्यो भन्दा बाहेक समय कि उहाँहरु अभियानमा हुनुहुन्छ, कि उहाँहरु विभागमा हुनुहुन्छ । काम गरिरहेको अवस्था बन्छ ।’ 

त्यस्तै, महामन्त्री थापाले भदौ १५ गतेभित्र सबै विभागको गठन गरिसक्ने र पूर्णता दिइसक्ने कार्ययोजना पेश गरेका छन् । त्यस्तै समितिहरूले पनि भदौ १५ गतेसम्ममा पूर्णता पाउने प्रस्ताव छ । आगामी एक वर्ष भित्रमा ७ लाख नयाँ पार्टी सदस्य बनाउनेगरि घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ अभियान सञ्चालन गरिने पनि उल्लेख गरिएको छ । 

थापाले भने, ‘साउन २० गतेदेखि २०८१ असार ३१ गतेसम्म घर घर जाउँ पार्टी सदस्य बनाऔँ भन्ने राष्ट्रिय अभियान शुरु हुने । यो अभियानमा कम्तिमा ५ लाखदेखि ७ लाख नयाँ पार्टी सदस्य बनाउने उद्देश्यले यो अभियान शुरु गर्नेछ ।’ पार्टीका सबै दस्ताबेजहरू डिजिटलाइज गर्ने र डिजिटल अभिलेख राख्ने पनि थापाको प्रस्ताव छ । यसको निम्ति कामहरू भइरहेको पनि महामन्त्री थापाले उल्लेख गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १६:२६
Weather Update