
काठमाडौं— पछिल्ला समय हास्यव्यङ्ग्य विधालाई प्राथमिकता दिइएको नेपाली चलचित्रका चल्ने गरेको पाइएको छ । यस वर्ष सर्वाधिक कमाइ गर्ने तीन चलचित्र 'कबड्डी ४', 'छक्का पन्जा ४' र 'महापुरुष' हास्य विधामा आधारित छन् । यीबाहेक 'दुई नम्बरी', 'के घर के डेरा' र 'झिङ्गेदाउ' पनि हास्य विधामै आधारित चलचित्र हुन् ।
यसरी हेर्दा अहिले दर्शकले नेपाली चलचित्रमा हास्य विधालाई रुचाएको देखिन्छ । निर्माताहरू समेत हास्य विधामा आधारित चलचित्रमा निर्धक्क भएर लगानी गरिरहेका छन् । 'कबड्डी ४' ले राम्रो व्यापार गरेर रेकर्ड नै बनाएको छ । यही कारण कुनै समय टेलिभिजनको पर्दा तथा टेलिचलचित्रमा देखिने अधिकांश कलाकार अहिले चलचित्रमा अभिनय, निर्माण, लेखन तथा निर्देशनमा व्यस्त छन् ।
कुनै समय सामान्य र छोटो भूमिकामा प्रस्तुत हुने हास्य कलाकारले अहिले चलचित्रमा मुख्य भूमिका पाउँदै आएका छन् । तीतो–सत्य टेलिचलचित्रकी कलाकार दीपाश्री निरौलाले निर्देशन गरेको 'छक्का पन्जा'को तीन वटै 'सिरिज'ले राम्रो व्यापार गरिसकेको छ । यसले नेपाली चलचित्रको सफलतामा हास्यव्यङ्ग्यको भूमिका प्रमुख रहेको प्रस्टिन्छ ।
'बक्स अफिसलाई हेर्दा समेत हास्यव्यङ्ग्य शैलीमा तयार गरिएको चलचित्रकै वर्चस्व देखिन्छ । बजारमा जे कुराको माग हुन्छ, अभाव पनि त्यसकै हुन्छ । सायद खुसी खोज्न दर्शक हलसम्म आउनुभएको हुनसक्छ', निर्देशक प्रदीप भट्टराई भन्छन् । निर्देशक भट्टराईले निर्देशन गरेको चलचित्र 'जात्रा', 'शत्रु गते', 'जात्रै जात्रा' र 'महापुरुष'ले पनि राम्रो व्यापार गरेको छ ।
हास्य शैलीलाई कलात्मक रूपमा प्रस्तुत गर्ने भएकाले उनीसँग चलचित्र निर्माणमा सहकार्य गर्ने चाहना धेरैको छ । उनी भने यो सफलतालाई परिवर्तनको रूपमा हेरेका छन् । 'चलचित्रभित्र पहिला हास्यव्यङ्ग्य एउटा पाटो मात्र हुन्थ्यो । हास्य कलाकारको काम नै हँसाउने हुन्थ्यो । तर अहिले हास्य कलाकारलाई मुख्य अभिनेता लिएर चलचित्र बनाउने सपना प्रायः निर्माताको छ', निर्देशक भट्टराईले भने, 'यद्यपि हामी सचेत हुनुपर्छ । दर्शकले गरिरहनुभएको विश्वासलाई कम हुन दिनु हुँदैन । जति धेरैले चलचित्र हेर्नुहुन्छ, दायित्व उत्ति नै बढ्छ ।'
निर्देशक भट्टराईले हास्य व्यङ्ग्य विधामा चलचित्र बनाइरहेकाहरू अझै मेहनती हुनुपर्ने बताउँछन् । 'हामी हौसिएका छौँ, चलचित्र उद्योग नै हौसिएको छ । यसले चुनौती थपेको छ', उनले भने, 'टेलिचलचित्र अहिले निकै कम छन् । कुनै समय हरेक दिन हास्य विधामा निर्मित टेलिचलचित्र प्रसारण भएका थिए । जसलाई हेर्न दर्शक घरमा फुर्सद निकालेर बस्ने गरेका थिए । अहिले सानो पर्दामा आएको अवस्था ठुलो पर्दामा आउन दिनुहुँदैन ।' उनले विषयवस्तु चयन, प्रस्तुतीकरण, कलाकारको छनोटलगायतका विषयमा विशेष ध्यान दिइरहेको बताए ।
हास्य कलाकार मनोज गजुरेल हास्यव्यङ्ग्यलाई मनोरञ्जनको रूपमा मात्र नलिन आग्रह गर्छन् । उनले भने, 'हामीले गर्ने व्यङ्ग्यको प्रभाव समाजमा पर्छ । त्यसैले ख्यालठट्टाका लागि मात्र सामग्री बनाउनु हुँदैन । व्यङ्ग्य नेपालको सम्पूर्ण अङ्ग हो । त्यसैले हामीले प्रस्तुत गर्ने प्रस्तुतिको महत्त्व छुट्टै छ ।'
केही चलचित्रसँगै टेलीचलचित्रमा अभिनय गरेका हास्य कलाकार गजुरेल हृदय हँसाउने कोसिस गरिरहेको बताउँछन् । 'बाहिरी हाँसो मात्र नभई भित्री रूपमा असर गर्ने सामग्रीमा हामीले ध्यान दिनुपर्छ', उनी भन्छन्, 'चलचित्रमा दर्शकले देखाइरहनुभएको विश्वासलाई घट्न नदिई बढाउने दायित्व छ ।'
त्यस्तै सिस्नु पानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले विकृतिलाई प्रहार गर्दै आम जनताको कुरालाई बाहिर ल्याउँदा हास्यव्यङ्ग्य रुचाइएको बताउँछन् । 'चलचित्र होस् वा प्रहसन त्यहाँ जनताको मनको कुरा भनिएको आभास भएकै कारण रुचाइएको हुनुपर्छ । विकृतिलाई गरिएको व्यङ्ग्य कलात्मक रूपमा प्रस्तुत गरेकाले नै फस्टाएको हो', अध्यक्ष गाम्नागेले भने । आफू र संस्थाले हास्यव्यङ्ग्यलाई सभ्य र शालीन बनाउँदै सामाजिक रूपान्तरणमा योगदान गर्ने बाटोमा रहेको उनले बताए ।
टेलिचलचित्रकै माध्यमले आफूलाई स्थापित गर्न सफल मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरेलगायतका कलाकार अहिले चलचित्रमा सफल भएका छन् । उनीहरूले काम गरेका चलचित्रले मुनाफा दिनुका साथै व्यापारमा रेकर्डसमेत बनाउन सफल भएका छन् ।
भेषराज कार्की/रासस