भोजपुर— विदेशको भोगाइपछि आफ्नो ठाउँ फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाको सङ्ख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाहरूका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवामा कृषिप्रति मोह बढेको हो ।
भोजपुरका युवाले अहिले व्यावसायिकरूपमा कृषि गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरू यहीँ नै उद्यममा जुटेका हुन् । विदेशबाट फर्केर टेम्केमैयुङका प्रेम बस्नेतले व्यावसायिकरूपमा बाख्रापालनसँगै विभिन्न उद्यम गर्दै आएका छन् । व्यावसायिक भएर काम गर्दा आनन्द हुने उनी बताउँछन् । ‘विदेशमा धेरै नै दुःख छ,’ उनले भने, ‘यहाँ दुःख गरेको सबैले देख्छन् । तर विदेशमा गरेको दुःख अरुले नदेख्ने मात्र हो । त्यहाँ गर्ने दुःख यहाँ गर्ने हो भने पैसा कमाउन कुनै समस्या छैन ।’
राज्यको तर्फबाट सञ्चालन भएका विभिन्न कार्यक्रमले युवालाई व्यवसायमा लाग्न हौसला मिलेको उनको भनाइ छ । विदेशमा यहाँबाट सोचेर गए जस्तो सहज नहुने बस्नेत बताउँछन् । व्यावसायिक भएर आफ्नै ठाउँमा काम गर्ने हो भने त्यहाँको भन्दा दोब्बर आम्दानी गर्न सकिने उनले बताए । ‘यहाँ सोचेजस्तो विदेशमा सहज छैन,’ उनले भने, ‘त्यहाँको दुःख सहन नसकेर करिब नौ महिना बिताएपछि यहाँ आएर व्यवसायमा लागेको हुँ । अहिले परिवारसँग बसेर राम्रो आम्दानी गरिरहेको छु ।’
विदेशबाट फर्केर खड्गबहादुर राउतले पनि व्यावसायिकरूपमा सतुवा तथा चिराइतो खेती गरिरहेका छन् । उनले व्यवसायबाट वर्षमा तीनदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्छन् । ‘विदेशमा लामो समय बिताएँ । सोचेजस्तो आम्दानी गर्न सकिनँ,’ उनले भने, ‘अहिले व्यावसायिकरूपमा जडीबुटीको खेती गरिरहेको छु । परिवारको दैनिक घर खर्च धानेर राम्रै आम्दानी गर्दै आएको छु ।’
विदेशबाट फर्केर स्थानीय गुणराज राउतले व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । विदेशमा १५ वर्ष बिताएका उनी अहिले आफ्नै ठाउँमा व्यावसायिक बाख्रापालनमा लागेका हुन् । ‘विदेशका तीन देशमा गरेर १५ वर्ष पसिना बगाएँ,’ उनले भने, ‘धेरै मेहनत गर्दा पनि सोचेजस्तो आम्दानी गर्न सकिनँ । त्यहाँ पाएको दुःखलाई सम्झेर अहिले आफ्नै ठाउँमा व्यावसायिकरूपमा बाख्रापालनमा लागेको छु । बाख्रापालनबाट यही राम्रो आम्दानी गरिरहेको छु ।’
विदेशमा गर्ने मेहनत यहाँ गर्न सके आफ्नै ठाउँमा परिवारसँग बसेर राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । मानिसहरूले विदेशमा बगाउने पसिना यहीँ बगाए देशलाई पनि योगदान पुग्ने राउत बताउँछन् ।
टेम्केमैयुङ गाउँपालिका एकराज विष्टले पनि विदेशबाट फर्केर व्यावसायिक किवी तथा एभोकाडोको खेती गरिरहेको बताए । गत वर्षबाट खेती सुरु गरेकाले अबको केही वर्षमा वार्षिक ६ देखि आठ लाख रुपैयाँसम्म आम्दानी लिने लक्ष्य रहेको उनको भनाइ छ । ‘हामीभित्र स्वदेशमा नै मेहनत गर्ने बानी हराउँदै गएको छ,’ उनले भने, ‘विदेशमा जस्तो पनि काम गर्न पछि नपर्ने हामी यहाँचाहिँ दुःख गर्न हीनताबोध गर्छौँ । अब हामी युवा यही नै केही गर्न आवश्यक छ । विदेशमा दुःख पाएपछि मात्र आफ्नो ठाउँ सम्झिने हाम्रो बानी छ ।’
युवाहरूले विदेश जानुभन्दा स्वदेशमा नै व्यावसायिक भएर काम गर्न सके जीवन गुजारा गर्न समस्या नरहेको उनले बताए । विदेश पुगेपछि स्वदेशमा आम्दानी गर्न सकिने धेरै विकल्प देखेपछि नेपाल फर्केर आएर व्यावसायिकरूपमा काम सुरु गरेको विष्टले बताए ।