News Griha :: न्यूजगृह
कल्भर्ट भत्किँदा आवागमन ठप्प
शुक्लाफाँटा नगरपालिका– १० स्थित लालवनिया खोला वर्षाका कारण भाँसिएको कल्भर्ट (पुल) मा साइकल तार्दै गरेका बालक । वर्षौं पहिला निर्माण गरिएको कल्भर्टको मर्मतसम्भार नहुँदा सोमबार बिहानको वर्षाका कारण भाँसिएर छुट्टिएको छ ।

कञ्चनपुर— लामो समयदेखि मर्मतसम्भार नगरिँदा शुक्लाफाँटा नगरपालिका– १० स्थित बन्जरिया (लापनिया) खोलामा निर्माण गरिएको कल्भर्ट (पुल) भत्किएको छ ।

दुई दिनदेखिको अविरल वर्षाले कल्भर्टको पूर्वतर्फको भाग भत्काएको हो ।  निर्माण गरिएको लामो समयसम्म मर्मत नगरिँदा कल्भर्ट भत्किएको स्थानीय बताउँछन् । २६ वर्ष पहिले कल्भर्ट निर्माण भएको हो । 

‘कल्भर्ट जीर्ण बन्दै गएकाले मर्मतसम्भार गर्नुपर्ने वा नयाँ पुल निर्माण गरिनुपर्ने माग छ वर्ष पहिलेदेखि गर्दै आएका हौँ,’ स्थानीय चुडामणि जोशीले भने, ‘कुनै पनि निकायले ध्यान दिएन, कल्भर्ट भत्किएपछि आवागमन नै ठप्प भएको छ ।’

कल्भर्ट भत्किएपछि नगरपालिकाले अप्रिय घटना हुन नदिनका लागि पुलका दुवैतर्फको आवागमन बन्द गरेको छ । स्थानीय बासिन्दाले कल्भर्टको आवागमन रोकिएपछि सात किलोमिटरको यात्रा गर्दै झलारी बजार र नगरपालिका कार्यालय पुग्नुपर्ने बाध्यता छ । कल्भर्ट भएर लालवनिया टोलमा लगिएको खानेपानीको पाइपमा क्षति पुगेको छ । पाइपमा क्षति पुग्दा २० घरपरिवार खानेपानीबाट बञ्चित भएका छन् । 

नगरप्रमुख रणबहादुर महराले बहुवर्षे ठेक्का लगाएर भए पनि खोलामा कल्भर्ट निर्माणकार्य गरिने बताए । ‘वर्षाको  समय भएकाले तत्काल कल्भर्ट  निर्माणकार्य गर्न सकिँदैन,’ उनले भने, ‘वर्षा सकिएसँगै कल्भर्ट निर्माणका लागि पहल गर्छौँ, पुल जीर्ण भएकाले नयाँ बनाउनका लागि पहल गरिरहेका थियौँ, त्यही बेला पुल भत्किएको छ ।’ 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १०:२३
Weather Update