News Griha :: न्यूजगृह
हामी मिटरब्याज पीडितहरूको साथमा छौ : मुख्यमन्त्री यादव

काठमाडौं— मधेस प्रदेश सरकारले मिटर ब्याज पीडितको पक्षमा रहेको बताएको छ । 

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मिटर ब्याज पीडितहरूको हरेक पाइलामा आफ्नो साथ रहेको जनाएका छन् । 

मिटर ब्याज राष्ट्रिय समृद्धिको बाधक रहेको भन्दै मुख्यमन्त्री यादवले यसविरूद्ध संयुक्त रूपमा लड्न प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिन्तक, योजनाविद् र विज्ञहरूलाई आह्वान समेत गरेका छन् । 'ठुलो वेदना बोकेर काठमाडौं पुग्नुभएका मिटर ब्याज पीडित हाम्रा दाजुभाइ दिदीबहिनीहरू, तपाईंको हरेक पाइलामा हाम्रो साथ छ', विज्ञप्तिमा भनिएको छ, 'तपाईंको आँसुको हरेक थोपामा हाम्रो पनि सरोकार र दायित्व छ । हामी जिम्मेवारीबाट भाग्न सक्दैनौं, भाग्दैनौं पनि तथापि यो प्रदेशको मात्र समस्या होइन ।'

केन्द्र सरकारले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन गरेको पहलको स्वागत गर्दै  मुख्यमन्त्री यादवले विदेश जान वा अध्ययन गर्न वा अन्य भइपरी गर्जो टार्न ऋण खोज्ने नागरिकहरूलाई मिटरब्याजीहरूबाट बचाउँदै कसरी सहयोग र सहकार्य गर्न सकिन्छ भन्नेबारे गृहकार्य गरी ठोस नीति बनाउन जरुरी रहेको उल्लेख गरेका छन् । 

गाउँघरका कतिपय साहुकारहरूबाट अत्याचार गर्ने द्रव्य पिशाची प्रवृत्ति देखिएको भन्दै उनले यस्तो शोषणका विरुद्धमा केन्द्र, राष्ट्र बैंक र प्रदेश सरकार मिलेर संयुक्त रुपमा काम गर्न विशेष अधिकार सम्पन्न शक्तिशाली आयोगको आवश्यकता समेत औंल्याएका छन् ।

'एकातिर बैंकले ऋण नदिन अनेक अड्चन खडा गर्ने, दिए पनि चर्को ब्याज लगाउने अर्कोतिर मजबुरीको फाइदा उठाई गाउँघरका कतिपय साहुकारहरूमा अत्याचार नै गर्ने द्रव्य पिशाची प्रवृत्ति देखिएको छ', विज्ञप्तिमा भनेका छन्, 'शोषणविरुद्ध केन्द्र, राष्ट्र बैंक तथा प्रदेश समेतले मिलेर संयुक्त रूपमा काम गर्न विशेष अधिकार सम्पन्न शक्तिशाली आयोग गठन गर्न जरुरी रहेको छ । जनताले न्याय मागिरहेका छन्, न्याय पाउनुपर्दछ । बैंकले बाटो खोल्नुपर्दछ । आम जनताले सहज र सुलभ रूपमा ऋण प्रवाह गर्नुपर्दछ ।'

Madhesh-Chief-Minister-Statement1680068763.png

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ११:२४
Weather Update