News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा 
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक । फाइल तस्बिर ।

काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुने भएको छ । झन्डै एक वर्षपछि केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्न  लागेको हो  ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले केन्द्रीय समिति बैठकका लागि विभिन्न १० एजेण्डा तय गरेको र सोही एजेण्डामा छलफल हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदनका लागि पेस गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने एजेण्डा रहेको छ ।

यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको एजेण्डा तय गरिएको छ । यसअघि असार २७ गते तय भएको बैठक विविध कारणले गर्दा आजलाई सारिएको हो ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ०६:१०
Weather Update