News Griha :: न्यूजगृह
एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित

काठमाडौं— नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक भोलि मंगलबारसम्मका लागि स्थगित भएको छ ।

पार्टी अध्यक्ष माधव नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेकाले भोलि बिहान ९ बजे पुनः बस्ने गरी बैठक स्थगित गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

समसामयिक घटनाक्रम, संगठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिवद्वय डा. विजय पौडेल र डा.गंगालाल तुलाधरले आफ्ना धारणा राखेका थिए ।

पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदहरूमा कसलाई मनोनीत गर्ने विषयमा भोलि छलफल गरिने जनाइएको छ । पार्टीमा केही उपाध्यक्षसहितका पदाधिकारी तथा बाग्मती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद रिक्त छन् ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १८:५३
Weather Update