के देउवा केन्द्रीय समितिमा नक्कली भुटानी शरणार्थीबारे छलफल गर्न तयार छन् ?

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका विषयमा केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गर्न तयार भएका छन् ।
भोलि मंगलबारबाट सुरु हुने समितिको बैठकको एजेण्डा तय गर्न आफ्नो निवास धुम्बाराहीमा सोमबार भएको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा देउवाले सबै विषयमा छलफल गर्न तयार रहेको बताएका हुन् ।
बैठकमा सहभागी एक पदाधिकारीले भने,‘सभापति शेरबहादुर देउवा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास सार्वजनिक जग्गा प्रकरणलगायतका सबै विषयमा छलफल गर्न तयार हुनुभएको छ ।’
भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका कांग्रेस प्रभावशाली नेता बालकृष्ण खाणका विषयमा भने देउवाले मुख नखोलेको ती पदाधिकारीले बताए । भुटानी शरणार्थी प्रकरणमा देउवाकी श्रीमती आरजुको नाम पनि मुछिएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १, २०८० १८:३३