News Griha :: न्यूजगृह
सेनाले किन दियो विद्यार्थीलाई एनसीसी तालिम ?

महेन्द्रनगर— नेपाली सेनाले कञ्चनपुरका तीन विद्यालयमा सोमबारदेखि राष्ट्रिय सेवा दल (एनसीसी)  तालिम सुरु गरेको छ ।

नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकका अनुसार महेन्द्रनगरस्थित इन्टरनेशनल पब्लिक स्कुल, शुक्लाफाँटा नगरपालिका–१० स्थित श्रीकृष्ण मावि र बेलौरी नगरपालिकाको उग्रतारा बाल विद्यालयमा जुनियर राष्ट्रिय सेवा दल तालिम प्रदान गरिएको हो ।

तीनवटै विद्यालयमा माध्यमिक तहका १८/१८ छात्र/छात्रा छनोट गरी तालिम दिन थालिएको छ । नेपाली सेनाले मुलुकभर चालु आर्थिक वर्षमा सात हजार सात सय विद्यार्थीलाई एकसाथ उक्त तालिम प्रदान गर्न लागेको सेनाले जनाएको छ ।

श्रीदल गुल्मका गुल्मपति सेनानी पृथबहादुर श्रेष्ठले युवामा अनुशासित, बफादारिता तथा इमान्दारिताका साथै राष्ट्रिय एकताको भावना विकास गर्न दशकौंदेखि सेनाले तालिम सञ्चालन गर्दै आएको जानकारी दिए ।

‘युवामा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि गरी असल नागरिक बनाएर राष्ट्र विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले तालिम दिन थालेका हौँ’, उनले भने,‘राष्ट्रिय सेवा दलको आफ्नै इतिहास र महत्त्व छ ।’

तालिमको उद्घाटन गुल्मपति सेनानी श्रेष्ठ र सहायक गुल्मपति सह–सेनानी मनोज जिसीले गरेका थिए । तीन महिनासम्म सञ्चालन हुने जुनियर तालिमपश्चात् प्रशिक्षार्थीलाई बाँकेको कोहलपुरस्थित कौशिलानगरमा थप २१ दिन तालिम प्रदान गरिनेछ ।

कञ्चनपुरमा सिनियरतर्फ यहाँका दुई विद्यालयमा आगामी भदौ पहिलो सातादेखि तालिम सञ्चालन हुने सेनाले जनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १७:५७
Weather Update