काठमाडौं— प्रमुख प्रतिपक्ष नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता टिकाउनका लागि नेपालको परराष्ट्र नीतिमै सन्तुलन गुमाउने खालको काममा संलग्न भएको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न भारत भ्रमणबारे संकेत गर्दै उनले पछिल्ला दिनमा सत्ता टिकाउन सरकार जस्तोसुकै जोखिम मोल्न तयार भएको उल्लेख गरे । त्रिभुवन विश्वविद्यालय र एसियाली अनुसन्धान केन्द्र (सीनास)ले सोमबार कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा उपमहासचिव ज्ञवालीले सत्ता टिकाउनका लागि असंलग्नताको परराष्ट्र नीतिमा विचलन ल्याउने काम नगर्न पनि सरकारलाई सचेत गराए।
उनले भने, ‘असंलग्नता नेपालको लागि सान्दर्भिक छ । पछिल्ला दिनमा त्यसमा विचलनहरू देखा पर्न थालेका छन । सबैले प्राज्ञिक ढंगले सरकारलाई होसियार बनाऊ है । सत्ता टिकाउनका निम्ति जस्तोसुकै पनि जोखिम गर्दा केही वर्ष सत्ता टिक्ने कुरा एउटा होला कि । तर नेपालजस्तो देशले धेरैधेरै मूल्य चुकाउनु पर्छ । यो कुरामा चाँहि होस् गरौँ भन्ने आग्रह गर्दछु ।’
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको क्रममा नेपालको हितलाई समेत ध्यानमा नराखी विद्युत खरिद सहितको सम्झौता गरेको भन्दै उनले आपत्ति जनाए ।