News Griha :: न्यूजगृह
संसदीय समितिमा कति छन् उजुरी, के छ बिजनेस?

काठमाडौं— संसदीय समितिमा सभापति चयन हुन नसक्दा समितिको काम प्रभावित भइरहेको छ । 

गठन भएको लामो समय बितिसक्दा पनि समिति सभापति चयन हुन नसक्दा समितिले गर्ने काम, कारवाहीहरू प्रभावित बनेका हुन् । हाल समितिको बैठक ज्येष्ठ सदस्यको सभापतित्वमा बस्दै आएको छ । निर्वाचित समिति सभापति नहुँदा समितिको काम कारबाही प्रभावकारी हुन सकेको छैन ।  

राजनीतिक दलहरूले आपसी समझदारीमा समिति सभापतिको भागबन्डा गरेको कुरा नेताहरूले बताउँदै आएपनि हालसम्म समितिले सभापति भने पाउन सकेको छैन । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले विभिन्न समितिमा गरी १० वटा विधेयकहरू विचाराधीन अवस्थामा रहेको बताए । उनले राज्य व्यवस्था तथा सुशासन समितिमा ४ वटा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा १ वटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा १ वटा, कानून, न्याय तथा मानव अधिकार समितिमा २ वटा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा २ वटा विधेयक दफावार छलफलका लागि पठाइएको जानकारी दिए । त्यसबाहेक प्रतिनिधि सभामा ६ वटा विधेयक प्रक्रियामा रहेका उनको भनाई छ । 

उनले भने, ‘विभिन्न समितिमा १० वटा विधेयक विचाराधीन छ । भन्नाले संशोधन सहित दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएर प्रतिनिधि सभाका विभिन्न समितिहरूमा १० वटा विधेयकहरू विचाराधीन छन् ।’
उनले समिति बैठक हालसम्म गम्भीर प्रकृतिका विषयवस्तुमा प्रवेश नगरेको बताए । उनले भने, ‘कतिपय अवस्थामा गम्भीर प्रकृतिका विषयवस्तुमा समिति अहिले प्रवेश गरिहालेको अवस्था पनि देखिँदैन । सभापतिको निर्वाचन भइसके पश्चात सभापतिले नै समिति चलाउँदाखेरि समितिको सक्रियता, प्रभावकारिता अभिवृद्धि भएको पहिला पनि देखिएकै हो । तसर्थ सभापतिको निर्वाचन भएपछि नै समितिले थप गति लिने हामीले विश्वास गर्नसक्छौँ ।’

प्रवक्ता गिरीले समितिहरूमा सार्वजनिक हित र सरोकारका विषयमा उजुरीहरू परिराखेको पनि बताए । उनले समितिले उजुरी उपर सम्बन्धित निकायलाई बोलाएर छलफल गर्ने बताए । यस अघिकै कतिपय उजुरीहरू पनि यथावत रहेका र नयाँ उजुरीहरू पनि परिरहेको उनले बताए ।  न्यूज एजेन्सी नेपालको सहयोगमा 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १४:३३
Weather Update