News Griha :: न्यूजगृह
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आजदेखि स्वास्थ्य परामर्श सेवा

काठमाडौं— वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा दिन सुरु गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले टेलिफोन मार्फत् आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकबाट जानकारी पाउनेछन् । सेवा आज बुधबार बिहान १० बजेदेखि सुरु हुनेछ ।

वैदेशिक रोजगार बोर्ड सचिवालयका उपसचिव तथा सूचना अधिकृत राजन पौडेलले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि लक्षित गरेर वैदेशिक रोजगार बोर्डको सचिवालयले टेलिमेडिसिन सेवा सुरु गरेको जानकारी दिए ।

विदेशमा रहेका नेपालीले आफूलाई परेको कुनै पनि स्वास्थ्य समस्याको बारेमा ९८५१३४५७०१ र ९८५१३४५७०२ दुई वटा नम्बरको भाइबर, हृवाट्सएप र इमो वा सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् ।

पौडेलले भने,‘फोन गरेपछि मेडिकल अधिकृतसँग भिडियोमा परामर्श गराउँछौं । परामर्शले भएन र ठूलो स्वास्थ्य सेवा आवश्यक पर्‍यो भने हरेक हप्ताको बुधबार र शुक्रबार दुई दिन स्वास्थ्य विशेषज्ञसँगको सेवा पनि दिन्छौं ।’

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०८:५९
Weather Update