
काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) ले आज साउन १ गतेदेखि संगठन निर्माण तथा विस्तार अभियान सुरु गरेको छ ।
‘अबको राष्ट्रको संकल्प, समाजवादी विकल्प’ भन्ने नारासहित पुससम्म चल्ने अभियानको नेसपाका केन्द्रीय पदाधिकारीहरुले सातै प्रदेशमा वृक्षारोपण गरी उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
कोशी प्रदेशमा उपाध्यक्ष हिसिला यमि, मधेस प्रदेशमा अध्यक्ष महिन्द्र राय यादव, बाग्मती प्रदेशमा सहअध्यक्ष गंगानारायण श्रेष्ठ, गण्डकी प्रदेशमा अध्यक्ष डा.बाबुराम भट्टराई, लुम्बिनी प्रदेशमा सहअध्यक्ष गोविन्द चौधरी, कर्णाली प्रदेशमा भक्तबहादुर शाह र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा अभियान सञ्चालन हुनेछ ।
पार्टी अध्यक्ष डा.भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ खोप्लाङमा ज्योति चौतारामा विभिन्न प्रजातिका वृक्षरोपण गरेर अभियानको सुरुआत गर्नेछन् ।
अभियान सातै प्रदेशका सबै जिल्ला तथा केही आवश्यकता अनुसार पालिका तहमा समेत सञ्चालन गरिने कार्यक्रम रहेको नेसपाले जनाएको छ ।