News Griha :: न्यूजगृह
भूमाफियाको कब्जामा पर्साका सार्वजनिक जग्गा, माफियाको प्रभावमा न्यायालय 

काठमाडौं— राष्ट्रिय सम्पदा संरक्षण अभियानका संयोजक जफर अन्सारीले पर्साका विभिन्न ठाउँमा भूमाफियाहरूले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रमोद विक्रम साह, इन्दुमती देवी केडिया र हिरादेवी ब्राह्मणीले पर्साका विभिन्न ठाउँको जग्गा आफ्नो नाममा बनाएको आरोप लगाएका हुन् । सरकारी जग्गा हडप्ने विरुद्ध आफूले कानूनको सहारा लिन खोजेपनि न्यायलयमा भूमाफियाको प्रभाव रहेको कारणले सम्भव नभएको उनको आरोप छ । 

उनले भने, ‘वीरगञ्ज छपकैया वडा नं– २ स्थित घण्टाघरदेखि रक्सौल भारतको मितेरी पुल जाने मेन बाटोमा लगभग चार बिघा क्षेत्रफल भएको जग्गा कसरी फिर्ता गराउने भन्ने सन्दर्भमा कानून विज्ञहरूको सल्लाहअनुसार मैले मुद्दामामिला गर्दा अहिलेको परिस्थितिमा न्याय पाउन धेरै गाह्रो भयो । न्यायालयमा पनि भूमाफियाको पकड र प्रभाव अति नै मजबुत छ ।’

परापूर्वदेखि सार्वजनिक रहिआएको छपकैया पोखरी साहले किर्ते जालसाजी गरी आफ्नो नाममा जग्गाधनी स्रेस्ता पुर्जा कायम गराएको उनको आरोप छ । जिल्ला र उच्च अदालतको उक्त फैसलालाई सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश चोलेन्द्रशमशेर जबरा र दीपकराज जोशीको संयुक्त इजलासले भूमाफिया साह कै हक लाग्ने ठहर गरेको उनले बताए । न्यायाधीशद्वय प्रलोभनमा परेर उक्त फैसला गरेको उनको ठहर छ ।

त्यस्तै, पर्साकै छपकैयास्थित कित्ता नं. ११७ र ९७ को नेपाल सरकारको नाममा रहेको जग्गा केडियाको नाममा दर्ता भएको उनको दाबी छ । उनले वीरगञ्ज महानगर वडा नं. १२ को कित्ता नं.४३ को राम जानकी मन्दिरको जग्गा ब्राह्मणीको नाममा दर्ता भएको आरोप लगाए ।

न्यायमा सर्वसाधारणको सहज पहुँच हुनुपर्ने भए पनि केही भ्रष्ट न्यायाधीशहरूका कारण नेपालमा त्यो असम्भव भएको उनको दाबी छ । सार्वजनिक सम्पत्ति संरक्षणका लागि आफूलाई सहयोग गर्न उनले सबै समक्ष आग्रह गरे । नेपाल न्यूज ब्याङ्क 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १६:३३
Weather Update