News Griha :: न्यूजगृह
जी–२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन डा. महत भारत प्रस्थान

काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महत जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन  भारत प्रस्थान गरेका छन्।

भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुने बैठकमा भाग लिन अर्थमन्त्री महत आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । 

अर्थमन्त्री महतका प्रेस संयोजक प्रकाश थापाका अनुसार अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र मन्त्रीका निजी सचिव युवराज पाण्डेसहितको टोली भारत गएको हो । जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय यो बैठकमा मुख्यगरी विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणालीलगायतका विषयमा छलफल हुने छ ।

नेपाल जी–२० मुलुकको सदस्य नरहेपनि अतिथि सदस्यका रुपमा अर्थमन्त्री महतले बैठकमा सहभागिता जनाउन लागेका हुन् । अर्थमन्त्री महत बुधबार स्वदेश फर्किने छन् । 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १२:२९
Weather Update