News Griha :: न्यूजगृह
एमालेप्रति मन्त्री ज्वालाको कटाक्ष : धुपबत्ती बाल्दैमा गठबन्धन ढल्दैन
फाइल तस्बिर ।

जनकपुर— भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहदैमा नढल्ने दाबी गरेका छन् ।

आइतबार जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीसँग नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढालोस् भनेर धुपबत्ती बाल्दैमा गठबन्धन नढल्ने टिप्पणी गरेका हुन् । प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरू एक ठाउँमा रहेको उल्लेख गर्दै उनले गठबन्धन ढाल्ने सपना नदेख्न प्रतिपक्षी एमालेलाई आग्रह गरे । मन्त्री ज्वालाले गठबन्धन ढालेर केही पाइहाल्छौँ की भन्ने आशा गर्नेहरूलाई आशावादी नबन्न आग्रहसमेत गरे । 

उनले भने, ‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ , यो कसैले गठबन्धन ढलोस् भनेर  चाहदैमा, धुपबत्ती गर्दैमा गठबन्धन ढल्दैन । किनभने यसको ग्राउन्ड छ । प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरू छन् । चुनावका बेलमा सँगै शक्तिहरू एक ठाउँमा छन् । जटिल मोडहरूमा एकतावद्ध भएका शक्तिहरू एक ठाउँमा छन् । यो ढलेर फाइदा पाइहाल्छौँ की भनेर आशावादी भएकाहरूको आशा पूरा हुँदैन ।’

फरक प्रसङ्गमा मन्त्री ज्वालाले समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभइ गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको बताए । 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ११:१२
Weather Update