
भोजपुर— विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता दिन सुरुआत गरेको छ ।
नागरिकताबाट बञ्चित जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाका तीन जनालाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले पौवादुङमा गाउँपालिका–४ र ६ का अपाङ्ग, अशक्त र फरक क्षमता भएका नागरिकलाई घरघरमै गएर नागरिकता वितरण गरेका हुन् । वडा नं ४ बास्तिमका तेजकुमार राई, सोही वडाका आसमाया राई र वडा नं ६ ठूलोदुम्माका अरुणराज राईले घरमै नागरिकता पाएका हुन् ।
नागरिकता नहुँदा सरकारी सेवाबाट पनि बञ्चित हुनुपरेको जानकारी गाउँपालिकाबाट आएपछि घरमै गएर नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।
उनले भने, ‘नागरिकता नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट समेत अपाङ्गता भएका, अशक्त र फरक क्षमता भएका नागरिक बञ्चित हुनुपरेको अवस्थामा हामीले घरमै पुगेर नागरिकता दिँदा सो सुविधा दिलाउन पनि सफल भएका छौँ ।’