News Griha :: न्यूजगृह
देवीको उपासना गरी चैतेदसैँ मनाइँदै

काठमाडौं— ​शक्तिस्वरूपा भगवतीको आराधना गरी चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदसैँ मनाइँदै छ ।

चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ । शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ । नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन् । 

वर्षमा चार वटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्रा.डा.रामचन्द्र गौतम बताउँछन् । यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ ।

चैतेदसैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ । नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने विधान छ ।

काठमाडौंमा गुह्येश्वरी, भद्रकाली, शोभाभगवती, नक्सालभगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेपलाञ्चोकमा पलाञ्चोक भगवती, गोरखामा मनकामना, बाँकेमा बागेश्लवरी, ताप्लेजुङमा पाथीभरालगायत शक्त्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०७:०२
Weather Update