News Griha :: न्यूजगृह
रास्वपा रूपन्देहीमा विवाद देखियो, विधानको कुरा उठाउनेमाथि कुटपिट 

रूपन्देही— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीमा विवाद देखिएको छ । संस्थापन पक्षले विधानको कुरा उठाउने नेताको सदस्यता खारेजी र कुटपिट गरेको भन्दै अर्को पक्षले विरोध जनाएको हो। 

रास्वपार्‍यापिड एक्सन टिम सैनामैना नगर संयोजक दामोदर खत्रीले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी विधान अनुसार पार्टी सञ्चालन गर्नुपर्छ भन्दा प्रदेश उपसभापति शालिकराम घिमिरे, रूपन्देही संयोजक प्रकाश ज्ञवाली र रूपन्देही क्षेत्र नं २ का क्षेत्रीय सदस्य विक्रम तिवारी लगायतले पार्टी कार्यालयमा बोलाई आफूलाई कुटपिट गरेको आरोप लगाएका छन् ।

खत्रीले पार्टीलाई विधान अनुसार चलाउनुपर्छ भन्ने आफ्नो आवाजलाई दबाउन घिमिरे, ज्ञवाली र तिवारीको समूहले आफूसँग अनुचित प्रस्ताव राखेको र उनीहरूको प्रस्तावमा सहमत नभएपछि कुटपिटमा उत्रिएको बताए ।

पार्टी विधानको धारा १३ (ङ) मा सरकारी विद्यालयमा पढाउने व्यक्ति कुनै पनि पदमा नरहने ब्यवस्था भए पनि जिल्ला संयोजक ज्ञवाली रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १७ पिपरहिया स्थित बालविकास आधारभूत विद्यालयमा पढाउने शिक्षक भएको र उक्त कुरा उठाउँदा आफूमाथि कुटपिट भएको बताए ।

प्रदेश उपसभापति घिमिरेले क्षेत्रीय निर्वाचनमा पदीय मर्यादा विपरीत मतदातालाई प्रभावमा पारी मतदाताको मोबाइलबाट आफैँले मत हाल्नेसम्मका कार्य गरेको र सो कुराको विरोध गर्दा षड्यन्त्रपूर्वक आफ्नो सदस्यता खारेज गर्ने र कुटपिट गरिएको खत्रीको आरोप छ ।

‘गत बुधबार राति मलाई पार्टीको सैनामैना नगर समितिको कार्यालयमा बोलाई प्रदेश उपसभापति घिमिरे, जिल्ला संयोजक ज्ञवाली र क्षेत्रीय सदस्य तिवारीको समूहले आगामी मङ्सिरमा हुने अधिवेशनमा नेतृत्व हत्याउन विभिन्न खाले प्रलोभन देखाएको र आफूले विधानको कुरा उठाउँदा विवाद भएपछि आक्रमण भएको हो’, खत्रीले भने ।

कुटपिट भए पनि पार्टीभित्रको कुरा भनेर आफूले प्रहरीमा उजुरी नगरेको तर उनीहरूले उल्टै आफूविरुद्ध उजुरी दिएको खत्रीको भनाइ छ ।

खत्रीले रास्वपामा फरक मतलाई दबाएर लोकतन्त्रको अभ्यास हुन नदिई निरंकुशता लादेकाले पार्टीमा नरहेको घोषणा समेत पत्रकार सम्मेलनमा गरे । रास्वपा जिल्ला संयोजक प्रकाश ज्ञवालीले खत्रीले पार्टी हित विपरीत काम गरेकाले कारवाही प्रक्रिया अघि बढाएको तर उनले पार्टी परित्याग गरेको बताए ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  २०:३२
Weather Update