News Griha :: न्यूजगृह
कुनबेला देश बेचिदिन्छन् भन्ने डर छ : सांसद धवलशमशेर राणा

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवलशमशेर राणाले राष्ट्र अहिले लिकभन्दा बाहिर गएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा राणाले देश लिकभन्दा बाहिर रहेको र यही व्यवस्थामा राजनीति सुबाटोमा नफर्किने बताए । उपप्रधानमन्त्री, मन्त्री र उच्चपदस्थ सरकारी अधिकारीसमेत भ्रष्टाचारको कारण जेलमा जानुपरेको प्रसङ्ग जोड्दै उनले अबको विकल्प व्यवस्था परिवर्तन भएको बताए ।

राणाले भने ‘यो राष्ट्र लिकभन्दा बाहिर छ । सुबाटोमा निकट भविष्यमा अगाडि जाला भन्ने विश्वास पनि जनताले गुमाइसकेको छ । सदन राम्रोसँग चल्न सकेको छैन । न्यायालयको हालत त्यो छ । हाम्रो प्रशासनको हालत के छ भन्ने हामीलाई थाहा छ । राजनीतिको हालत के छ ?’ हामी सबैलाई थाहा छ । राजनीति गर्ने शीर्षस्थ नेताहरू जेलको कठघरामा जानु परिरहेको छ । प्रशासन चलाउने उच्चस्तरका कर्मचारीहरू भ्रष्टाचारमा मुछिएर जेलमा गइराखेका छन् ।’

राणाले अहिले गाउँगाउँमा पुगेका ४६ हजार राजारानीले जनताको पक्षमा कुनै काम नगरेको र जनतालाई नटेरेको उनको आरोप छ । उनले देशमा अब परिवर्तन आवश्यक रहेको बताए । गणतन्त्र, यो संघीयता पूर्णरुपमा असफल भएको उनको दाबी छ । ४६ हजार नेताहरूको पालन पोषण गरीब राज्यले गर्न नसक्ने उनको दाबी छ । अहिलेको संघीयता राजनीतिको नाममा जीविका चलाउने भाँडो भइरहेको उनको टिप्पणी छ ।

राणाले भने, ‘प्रदेशहरूको कामै छैन । भत्ता खुवाउने, राजनीतिको नाममा जीविका चलाउने भाँडो भइरहेको छ यो संघीयता । सङ्घमा नेताहरूको खेलाँची भइरहेको छ । सरकार ढल्ने अनि ढलाउने र मन्त्री बन्ने र बनाउनुबाहेक अरु काम भइरहेको छैन ।’

सांसद राणाले अहिले नेताहरूले कुनबेला देश बेचिदिन्छन् भन्ने पनि डरको अवस्था रहेको आरोप लगाए । नेपाली जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्न सक्ने, आफ्नो रातो पासपोर्ट बेच्ने र सरकारी जग्गाजमिन समेत हडप्ने नेताहरूले देश नबेच्लान भनेर विश्वास गर्न नसकिने उनको दाबी छ ।

‘राजा सबैको साझा हो । सबै नेपाली जनताले मानेको राजसंस्था हो । अहिले राष्ट्रपतिको जुन क्रियाकलाप देखियो, अहिलेको मात्रै होइन, तीनवटै राष्ट्रपतिको क्रियाकलाप पार्टीको राष्ट्रपति, पार्टीभन्दा पनि व्यक्तिको राष्ट्रपतिसम्म देखियो,’ उनले भने ।

सांसद राणाले अहिले देशमा रोजगारीको सम्भावना नै नरहेको पनि खराब स्थिति सुनाए । उनले देशको युवा पुस्ताले देशभित्र भविष्य नदेखेको कारण हाईस्कूल र प्लस टु लगत्तै विदेशिने सपना देख्ने गरेको पनि बताए ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १९:३८
Weather Update