
काठमाडौं— नेकपा एमालेले कोशी सरकार विघटन गर्न माग गरेको छ।
शनिबार बसेको सचिवालय बैठकले असंवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भंग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल सुरु गर्न माग गरेको हो।
कोशी प्रदेशको नवनिर्मित सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै एमाले सर्वोच्च अदालत पुगेको छ । प्रदेश सभा सभामुखको समेत हस्ताक्षर जोडेर बहुमत देखाई नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न एमाले संसदीय दलका नेता नेकपा एमाले कोशीका संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्।
सर्वोच्च अदालतले समेत कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पुग्ने निर्णय नगर्न अन्तरिम आदेश दिइसकेको छ। रिटमा विपक्षीलाई साउन ३ गतेसम्म जवाफ पेश गर्न आदेश दिइएको छ भने साउन ७ गते रिटको पेशी तोकिएको छ।