काठमाडौं— आर्थिक वर्ष २०७९/८० मा लागूपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने एक सय ४९ जना चालकमाथि कारबाही गरिएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय लागूपदार्थ नियन्त्रण ब्युरो र सम्बन्धित प्रहरी कार्यालयको संयुक्त प्रयासमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चालकलाई जाँच अभियान चलाउने गरिएको छ ।
सोही क्रममा चालकले लागूपदार्थ सेवन गरी सवारीसाधन चलाए/नचलाएको सम्बन्धमा टीएचसी किटको प्रयोग गरी २०७९ साउन ९ गतेबाट जाँच अभियान सुरु गरिएको थियो ।
लापसे गरी सवारीसाधन चलाउने चालकमध्ये भाडाका सवारीसाधन चलाउने चालक पनि रहेकाले यात्रु बोक्नेजस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले नै लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले बताए ।