News Griha :: न्यूजगृह

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टीहरूप्रति कटाक्ष गरेका छन् । 

उनले पुराना पार्टीका दिनहरू गए भन्दै आएका नयाँ पार्टीहरूले धर्ती, देश, धर्मशास्त्र, संस्कृतिहरू सबै पुराना हुन् भनेर बिर्सन नहुने बताए । ‘यो देश आफैँमा पनि पुरानो हो । पुरानो नाता सम्बन्धहरूलाई तोडिराखेर नयाँनयाँ भनिराखेर बग्दै गरेको खहरेबाट बिजुली निकाल्न सकिँदैन,’ उनले भने, ‘निरन्तर बगिरहेका नदीहरूबाट नै देशले विद्युत् उत्पादन गर्नसक्छ भन्नेकुरा हामीले बिर्सिनु हुँदैन ।’ 

महामन्त्री शर्माले कांग्रेस अझै बलियो, परिपक्व, संयमित र एकताबद्ध बन्नुपर्ने बेला आएको बताए । उनले साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्ने र राष्ट्रव्यापी रूपमा अभियान घोषणा गरी पुरानो दललाई नवीन बनाउने क्रम सुरु हुने बताए । 

महामन्त्री शर्माले कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याजविरुद्धको विधेयकमाथि चुनौती आउन लागेको भन्ने कुरा राखेको भन्दै मन्त्रीहरूबाट यस्तो जवाफ सुन्न नचाहेको बताए । सबैखालका चुनौतीलाई चिरेर मिटरब्याजको विधेयक संसद्मा ल्याउनुपर्ने उनको भनाइ छ । 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १८:२६
Weather Update