
काठमाडौं— उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन् । उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका वाचा पूरा गरेरै छोड्ने बताए ।
गृह जिल्ला सुर्खेत पुगेका उपप्रधानमन्त्री खड्काले आज सुर्खेतको पूर्वी क्षेत्र गुर्भाकोट–७ स्थित गोकुलपुरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि विकास–निर्माणका कामहरू अघि बढिरहेको बताए । उनले जनताको अपेक्षाअनुसार वर्तमान सरकारले काम गरिरहेको जिकिर गर्दै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि समग्र कर्णालीका महत्वपूर्ण विकास योजना अघि बढाइएको बताए ।
उपप्रधानमन्त्री खड्काले कर्णाली करिडोर र भेरी करिडोर लगायतका कर्णालीको समृद्धिसँग जोडिएका ठूला सडक योजना निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी समेत दिए । उनले २० वर्षभित्र भेरी किनारमा आधुनिक र नमुना शहर निर्माण गरेर भेरीगङ्गा उपत्यका नमुनाको आधुनिक शहर निर्माणको काम अघि बढेको उल्लेख गर्दै त्यो शहर नयाँ पुस्तालाई नासोका रूपमा हस्तान्तरण गरिने बताए ।
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै डोल्पादेखि सुर्खेतसम्मको भेरी किनारमा सिँचाइ, विद्युतीकरण, सडक लगायतका काम गर्ने गरेर भेरी करिडोर सिँचाइ विकास योजना लगायतका ठूला विकास योजना कार्यान्वयन भइरहेको उनको भनाइ छ । पूर्वी सुर्खेतका लेकबेँसी, भेरीगङ्गा र गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिकाका नागरिकहरूलाई एकीकृत सेवा पुर्याउने उद्देश्यले मेहलकुनामा इलाका प्रशासनसँगै मालपोत, नापी लगायतका जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय स्थापना गरिएको उपप्रधानमन्त्री खड्काले बताए । रासस