
काठमाडौं— नेपाल भ्रमण रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसियाली मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लू शुक्रबार दिनभर विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहे । यस क्षेत्रमा आफ्नो नियमित कूटनीतिक संलग्नताअन्तर्गत उनी नेपाल भ्रमणमा आइपुगेका हुन् ।
भेटवार्ताका क्रममा सहायक विदेशमन्त्री लूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर दाहालकी श्रीमती सीताको निधनप्रति समवेदना व्यक्त गरे ।
यसैगरी उनले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै शिष्टचार भेटवार्ता गरे ।
सो अवसरमा उनले लोकतन्त्रका लागि शिखर सम्मेलनमा नेपालले हासिल गरेका उपलब्धि, नेपालमा मानवअधिकार संरक्षणको पछिल्लो समय सुदृढीकरण र आगामी अगष्टमा कार्यान्वयन सुरु हुने अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कम्प्याक्टको हालसम्मको प्रगतिका बारेमा छलफल गरेका थिए ।
उक्त परियोजनाले आगामी पाँच वर्षभित्र अत्यवश्यक विद्युतीय पूर्वाधार उपलब्ध गराउने, सडक मर्मत सम्भारको क्षमतामा सुधार गर्ने र हजारौं रोजगारी सिर्जना गर्नेछ ।
उच्चस्तरीय कूटनीतिक संलग्नताले द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने, नेपाल–अमेरिकाको क्षेत्रीय साझेदारीलाई सुदृढ गर्ने, सार्वभौमसत्ता सम्पन्न, समृद्ध र प्रजातान्त्रिक संसारलाई अगाडि बढाउने अपेक्षा लिइएको छ ।
आफ्नो क्षेत्रीय भ्रमणका क्रममा सहायक विदेशमन्त्री लूले भारत र बंगलादेशको भ्रमण गरेका थिए ।