News Griha :: न्यूजगृह
लम्पी स्किन प्रभावित किसानलाई राहत दिन सांसदको माग
फाइल तस्बिर ।

काठमाडौं— महामारीका रूपमा देखापरेको लम्पी स्किन रोगका कारण प्रभावित किसानलाई राहत उपलब्ध गराउन सांसदहरूले माग गरेका छन् । 

प्रतिनिधि सभाको आजको बैठक सुरु हुने बित्तिकै लम्पी स्किन रोगका कारण देशका विभिन्न स्थानमा किसानका गाईभैँसीको मृत्यु भएको भन्दै नेकपा एमालेका सांसद पदम गिरीले किसानलाई राहत दिन माग गरे । उनले सो रोग नियन्त्रणका लागि संसदीय पूर्वाधार विकास कोषको बजेट रकमान्तर गरेर भए पनि खर्च गर्न माग गरे । 

सांसद रामहरि खतिवडाले देशका विभिन्न स्थानमा यस रोगका कारण रोपाइँको समयमा गोरु मर्दा किसानले खेतीपाती गर्न सक्ने अवस्था नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरापमा कर्मचारीलाई मात्रै पक्राउ नगरी त्यसको निर्णय प्रक्रियामा सहभागी उच्च राजनीतिक नेतृत्वलाई पनि पक्राउ गर्न माग गरे । उनले उक्त जग्गा बिक्री गर्नेलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताए । 

सांसद रणेन्द्र बराइलीले हालै जुम्लामा जातीय विभेदका कारण घर जलाइएको घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए । अन्तरजातीय विवाहको विषयलाई छुटाउनका लागि अन्य मुद्दा लगाइएको, देशव्यापी रूपमा दलितले उच्च भनिने जातिबाट ज्यादती बढेको उल्लेख गर्दै उनले विद्यमान ऐन तथा कानुनका आधारमा कारबाहीको दायरामा ल्याउन माग गरे । 

सांसद रवि लामिछानेले मिटरब्याज पीडितलाई राहत दिनका लागि ल्याइएको विधेयक आजको बैठकको कार्यसूचीमा किन राखिएन भन्ने प्रश्न राखे । उनले मिटरब्याज पीडितलाई राहत दिने विषयमा आफूहरू स्पष्ट रहेको र आगामी बैठकमा त्यसलाई कार्यसूचीमा राख्न आग्रह गरे । मिटरब्याजको पासोमा जनतालाई पार्ने विषय आफूहरूलाई सह्य नभएको उनको भनाइ छ ।

सांसद ज्ञानेन्द्र शाहीले २१औँ शताब्दीमा जातीय छुवाछुतको घटना कम हुन नसकेको उल्लेख गरे । उनले दलित समुदायको व्यक्ति कार्यकारी प्रमुख नहुँदासम्म सो समुदायले राहत नपाउने बताए । उनले जुम्ला घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गरे । 

सांसद प्रदीप यादवले जलवायु परिवर्तनका खडेरी पर्दा बारा र पर्साका किसान प्रभावित भएको बताए । उनले रोपाइँको समयमा किसानले मल, बिउ नपाएको, नहर सफाइ नभएका कारण किसानले सहज रूपमा रोपाइँ गर्न नपाएको गुनासो गरे । 

सांसद अम्मरबहादुर थापाले दैलेखको महाबु–३ का धिरजबहादुर खत्रीको परिवार भारतको सिमलामा मजदुरी गर्न गएको र खाना पकाउने क्रममा ग्यास विस्फोट भइ जनधनको क्षति भएकाले पीडित परिवारलाई उद्धार गर्न तथा नेपाल ल्याउने व्यवस्था गर्न माग गरे । 

सांसद अमरेशकुमार सिंहले ललिता निवास जग्गा प्रकरणमा टिप्पणी लेख्नेलाई धमाधम पक्राउ गर्ने तर, निर्णय गर्नेलाई कारबाहीको दायरामा नल्याउने प्रवृत्ति गलत भएको बताए । राजनीतिक नेतृत्वको संलग्नतामा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएकाले दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन उनले माग गरे । दोषीलाई कारबाहीको दायरामा ल्याउने गरी सरकारलाई रुलिङ गर्न उनले सभामुखको ध्यानाकर्षण गराए । 

सांसद प्रभु साहले रौतहटका एक किसान खेतमा काम गर्दागर्दै चर्को घामका कारण निधन भएको पाइएकाले राहत दिन सरकारको ध्यानाकर्षण गराए । उनले पछिल्ला केही दिनमा करेन्ट लागेर रौटहटमा दैनिकजसो नै नागरिकको ज्यान गएको भए पनि नेपाल विद्युत् प्राधिकरणले ध्यान नदिएको बताए । 

सांसद रोशन कार्कीले लम्पी स्किन रोगका कारण हजारौँको सङ्ख्यामा पशु चौपाया मरेको विषयमा सदनमा व्यापक बहस हुनुपर्ने र किसानलाई राहत दिनुपर्ने बताए । 

सांसद शान्ति विकले सम्पूर्ण दलित समुदाय सम्मानपूर्वक बाँच्न पाउने कानुनी प्रबन्ध भए पनि देशव्यापीरुपमा सोही समुदायमाथि ज्यादती भएकाले दोषीमाथि कारबाहीको दायरामा ल्याउन माग गरिन् । 

सांसद ठाकुर गैरेले भ्रष्टाचारविरुद्धको अभियानलाई कमजोर नबनाउन र मिटरब्याज पीडितलाई राहत दिने विषयमा शीघ्र पहल गर्न सरकारको ध्यानाकर्षण गराए । 

सांसद अशोककुमार चौधरीले पछिल्ला दिनमा भएको अविरल वर्षाका कारण कोशी नदीले केही स्थानमा कटान गरेकाले मानव बस्ती जोखिममा परेको पाइएकाले कोशी ब्यारेजको सबै ढोका खोल्ने व्यवस्था गर्न माग गरे । 

सांसद लीला बोखिम लिम्बूले बाढी पहिरोका कारण पूर्वी नेपालका तीन जिल्लाको सडक अझै पनि सहज रूपमा सडक सञ्चालनमा आउन नसक्दा जनजीवन प्रभावित भएको बताए । 

सांसद रघुजी पन्तले मिटरब्याज पीडितलाई राहत दिनका लागि ल्याउने भनिएको विधेयक आजको बैठकमा किन ल्याइएन भन्ने प्रश्न गरे । उनले तनहुको चुँदीरम्घामा रहेको आदिकवि भानुभक्तको जन्मस्थलमा रहेको घर आगलागीका कारण खण्डहर रहेकाले त्यसको पुनः निर्माण गर्न माग गरे । 

सांसद प्रेम सुवालले समसामयिक राजनीतिक विषय र बेथितिका उदाहरण पेस गर्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराए । रासस

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १६:१६
Weather Update