
काठमाडौं— लाओस, थाइल्याण्ड, म्यान्मार लगायतका देशमा आकर्षक रोजगारीको प्रलोभन देखाई नेपालीलाई ‘अनलाइन स्क्यामिङ’मा लगाउने चिनियाँ नागरिकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले चिनियाँ नागरिक ४२ वर्षीय जोनसन नाम बताउने लिआङ जूनलाई पक्राउ गरेको हो । चीनको गान्सु प्रान्तका उनलाई ब्युरोको टोलीले बुधबार पक्राउ गरेको हो । यो घटनामा थप २ जना चिनियाँ नागरिकको संलग्नता रहेको खुलेको छ । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
जोनसन सन् २०१८ देखि नेपाल आउने/जाने गर्ने गरेको पाइएको छ । उनी भिजिट, स्टुडेन्ट/बिजनेश भिसामा नेपाल आएको देखिएको ब्युरो प्रमुख एसएसपी जीनवकुमार श्रेष्ठले बताए । उनले नेपालमा विभिन्न व्यापार, व्यवसायमा लगानीसमेत गरेको खुलेको छ । उक्त गिरोहले म्यान्मार कम्तिमा १० जनालाई जबर्जस्ती ‘अनलाइन स्क्यामिङ’ को काममा लगाएको पाइएको छ ।
कसरी पुग्यो जोनसनसम्म प्रहरी
पीडित ‘२६ बबरमहल १८९’को चिनियाँ भाषाको दोभाषे काम गर्ने साथीमार्फतजोनसनसँग भेट भएको थियो । त्यसको ४/५ महिना पछि जोनसनले पीडितलाई थाइल्याण्डमा कम्प्युटर टाइपिङ सम्बन्धी रोजगारीमा लैजान प्रस्ताव गरे । जोनसनको प्रस्ताव पीडितले सहजै स्वीकार गरिन् । पीडित गत साउन ९ गते थाइल्याण्ड गइन् । त्यहाँ पुगेपछि उनलाई जबर्जस्ती १३ घण्टासम्म बस तथा डुङ्गामा चढाई म्यान्मार पुर्याइयो । त्यहाँ उनलाई बन्धक बनाइयो । राहदानी तथा मोबाइल जफत गरी जबरजस्ती स्क्याममालगाइयो । गिरोहले नेपाल फिर्ता हुन खोज्दासमेत जबरजस्ती काममा लगाउने गर्यो । फिरौती रकम बुझाएपछि मात्र पीडितलाई नेपाल आउन दिइएको थियो । नेपाल आएपछि पीडित ब्युरोमा पुगेका हुन् ।
‘पक्राउ परेका प्रतिवादी सम्मिलित गिरोहले नेपालबाट आकर्षक रोजगारीमा थाइल्याण्ड लैजाने भनी नेपाली नागरिकहरूलाई म्यान्मार पठाउने गरेको पाइएको छ,’ एसएसपी श्रेष्ठले भने । उनका अनुसार म्यान्मार पुगिसकेपछि गिरोहले सक्कल राहदानी र मोबाइल जफत गर्ने, बन्धक बनाउने र फेसबुक, ह्वाट्सएप, ट्वीटर, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमार्फत दिनको १८ देखि २० घण्टा सम्म अनलाइन स्क्यामिङको काममा लगाउने गरेको खुलेको छ ।
काम नगरे शारीरिक र मानसिक यातना दिने गरेको पनि अनुसन्धानबाट खुलेको छ । नेपालबाट लगिएका पीडितलाई गिरोहले ठगी काममा प्रयोग गरेको पाइएको एसएसपी श्रेष्ठले बताए ।
‘अमेरिकी नागरिकहरूलाई फेक आइडीमार्फत कुराकानी गर्न लगाउने र क्रिप्टो तथा बिट क्वाइनमा लगायतमा लगानी गर्न प्रेरित गर्ने काममा उनीहरूलाई प्रयोग गरेको खुलेको छ,’ एसएसपी श्रेष्ठले भने । जोनसनविरुद्ध बिहीबार प्रहरीले जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद लिइ थप अनुसन्धान गरिरहेको छ । गिरोहले बन्धक बनाएको ठाउँसमेत पीडितलाई थाहा छैन । यसविषयमा कूटनीतिक माध्यमबाट बुझ्न खोज्दासमेत म्यानमार सरकारले सहयोग नगरेको गुनासो अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको छ ।
अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘गृह, परराष्ट्र हुँदै त्यहाँको दूतावासलाई समेत यस विषयमा जानकारी गरायौँ । थप अनुसन्धानको लागि सहयोग पनि माग्यौँ तर त्यहाँको सरकारले सहयोग गरेन । ती अधिकृतका अनुसार पीडितलाई बन्धक बनाएको ठाउँ त्यहाँको विद्रोहीले कब्जा गरेको ठाउँ भएकोले केही गर्न नसक्ने भन्दै म्यानमार सरकारले जवाफ दिएको थियो ।