
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्र पार्टीको सबै तहमा ३३ प्रतिशत महिलाको संख्यालाई सुनिश्चित गर्ने निर्णय गरेको बताएका छन् ।
उनले भने, ‘राप्रपा केन्द्रीय समिति, कार्यसम्पादन समिति र बैठकले तयार पारेको विस्तृत कार्ययोजना २०८० अन्तरगत राप्रपाले ६ महिनाभित्र पार्टीको सबै तहमा ३३ प्रतिशत महिलाको संख्यालाई सुनिश्चित गर्ने भएको छ ।’
यस्तै, उनले पार्टीमा युवाहरूको सहभागितामा कमी आएको भन्दै सबै तहमा ४० वर्षसम्मका युवाहरूको अनिवार्य सहभागिताको व्यवस्था मिलाउने निर्णय पनि गरेको बताए ।
‘पार्टीको सबै तहमा ४० वर्षसम्मका युवाहरूको अनिवार्य सहभागिताको व्यवस्था मिलाउने भएको छ । केन्द्रीय कार्य समितिमा ४० तथा कार्यसम्पादन समितिमा ७ जना युवाहरूलाई विभिन्न प्रवृत्तिबाट अनिवार्य रूपमा प्रतिनिधित्व गराउने व्यवस्था मिलाएका छौँ,’ उनले भने ।
उनले राप्रपामा अब काम नगरी नेता हुन नपाइने व्यवस्था गरिएको भन्दै तोकिएको जिम्मेवारीमा नजाने नेता पदको जिम्मेवारीबाट मुक्त हुने व्यवस्था गरेको बताए ।
उनले ९ सय जना नेताहरूलाई एकैसाथ संगठन विस्तारका लागि भूगोलको जिम्मेवारी प्रदान गर्नुको साथै कार्यसमितिका क्रियाकलापको समन्वय तथा अनुगमनका लागि ७ वटै प्रदेशमा संयोजक तथा सहसंयोजकको व्यवस्था मिलाउने बताए ।
अध्यक्ष लिङ्देनले २ वर्षमा सक्रिय सदस्यको संख्या २ लाख पुर्याउने लक्ष्यका साथ अगाडि बढ्ने भन्दै विद्यार्थी संगठनलाई राजनीतिक कम शैक्षिक क्रियाकलापमा बढी संलग्न गराउने बताए ।