News Griha :: न्यूजगृह
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
फाइल तस्बिर ।

काठमाडौं— सरकारले काभ्रेको बाहुनडाँडामा अत्याधुनिक चलचित्र स्टुडिओ बनाउन अनुमति दिएको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्का विभिन्न तीनवटा बैठकको निर्णय सार्वजनिक गर्दै वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडिओ निमार्ण गर्न अनुमति दिने निर्णय भएको जानकारी दिइन् । 

उनले भनिन्, ‘काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. १० र १३ अन्तरगत रहेको बाहुनडाँडा सामुदायिक वनको कुल २.५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ ।’

त्यस्तै, सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा नेपालको खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुर जिल्लाको सानो थिमीमा तोक्ने निर्णय गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० दुई वर्षमा वार्षिक रूपमा न्यूनतम १ सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजतपत्र आउँदो २०८०/८१ को लागि नवीकरण गर्न आएमा नवीकरण गरिदिने गरी बाधा फुकाउने निर्णय गरेको छ । 

त्यस्तै, मन्त्री शर्माले सरकारले पर्यटन मन्त्रालयको प्रस्तावमा पर्यटन विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति दिनुका साथै वन्यजन्तुबाट क्षति भएबापत् राहत वितरण गर्ने निर्देशिका २०८० स्विकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १६:४१
Weather Update