News Griha :: न्यूजगृह
अमेरिकी सहायक विदेशमन्त्री शुक्रबार नेपाल आउँदै, एमसीसी कार्यान्वयन मुख्य एजेण्डा 
तस्बिर : सुमन नेपाली/हिमालखबर डटकम

काठमाडौं— अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल आउने भएका छन् ।

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु शुक्रबार एकदिने भ्रमणको लागि नेपाल आउन लागेको काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार जानकारी गराएको हो । लु अहिले दक्षिण एसियाको भ्रमणमा छन् । नेपाल भ्रमणको क्रममा लुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ । 

स्रोतका अनुसार उक्त भेटवार्ताको क्रममा लुले नेपालमा ऊर्जा र पूर्वाधार विकासमा अमेरिकी ५०० मिलियन डलर अनुदानको कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्ध लगायत विषयमा कुराकानी गर्ने छन् । 

सम्झौताको ६ वर्षपछि कार्यान्वयनको चरणमा एमसीसी 

अमेरिकी अनुदान परियोजना एमसीसी कार्यान्वयन चरणमा प्रवेश गर्नुअघि अमेरिकी शीर्ष कूटनीतिज्ञको नेपाल भ्रमण हुन लागेको हो । लु यसअघि गत साउन १२ मा काठमाडौं आएका थिए । त्यतिबेला सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको थियो । 

DonaldLu-Deuba1689244241.jpg
 शेरबहादुर देउवासँग डोनाल्ड लु ।  फाइल तस्बिर/रासस 

लुले एमसीसी परियोजना अघि बढाउन नेपाल सरकारसँग समन्वय गरिरहेका छन् । उनी अमेरिकाका लागि मध्य एसिया र दक्षिण एसिया हेर्ने सहायक विदेशमन्त्री हुन् । सम्झौतामा हस्ताक्षर भएको करिब ६ वर्षपछि अमेरिकी अनुदान परियोजना एमसीसी कार्यान्वयन चरणमा प्रवेश गर्ने भएको छ ।

सन् २०१७ सेप्टेम्बरमा नेपालले एमसीसी परियोजना लागूगर्ने सम्झौता गरेको थियो । परराष्ट्रमन्त्री साउदले गत सोमबार एमसीसी परियोजना आगामी अगस्टबाट कार्यान्वयनमा जाने बताएका थिए । ‘एमसीसी परियोजना कार्यान्वयन चरणमा प्रवेश गर्नुअघि आवश्यक प्रक्रियाहरू करिब पूरा भएको स्थिति छ । अगस्टदेखि कार्यान्वयनमा जान्छ,’ संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा परराष्ट्रमन्त्री साउदले भनेका थिए ।   
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १६:१३
Weather Update