News Griha :: न्यूजगृह
सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिन्छ : मन्त्री शर्मा

काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने बताएकी छन् । 

बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्री शर्माले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागिपरेको बताइन् । 

‘समाजिक सञ्जालको विषयमा गम्भीरतापूर्वक कुरा उठाउनुभएको छ, यसका लागि हामी आगामी आर्थिक वर्षमा कानुनको तर्जुमा गरी सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने बेहोरा अवगत गराउन चाहन्छु,’ उनले भनिन् ।  

उनले विद्युतीय तथ्यांकहरूको सुरक्षा भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतिय तथ्यांक सुरक्षा नीति तर्जुमा गरिने जानकारी दिइन् । त्यस्तै साइबर सुरक्षासँग सम्बन्धित विषयहरू एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको पनि उनले स्पष्ट पारिन् । 

मन्त्री शर्माले हाल २४२ वटा टेलिभिजन, ९२८ एफएम रेडिओ, सात हजार ९७९ पत्रपत्रिका र तीन हजार ९९० अनलाइन पत्रपत्रिका दर्ता भइ सञ्चालनमा रहेको जानकारी दिइन् । 

गोरखापत्रबाट ३८ भाषा, रेडिओ नेपालबाट २१ भाषा र नेपाल टेलिभिजनबाट ९ भाषामा समाचार सामग्री प्रकाशन तथा प्रशारण भइरहेको पनि उनले बताइन् । 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १४:२५
Weather Update