News Griha :: न्यूजगृह
संघीय निजामती सेवा ऐन छिट्टै ल्याउँछौँ : मन्त्री मोदी

काठमाडौं— संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन छिट्टै आउने बताएका छन् । 

बिहीबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासनसम्बन्धी विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मोदीले सरकार संघीय निजामती सेवा ऐनप्रति गम्भीर भएको भन्दै छिट्टै ऐन ल्याउने बताए । 

उनले भने, ‘संघीय निजामती सेवा ऐन चाँडै नै आउछ । कुनै किसिमको चिन्ता लिन पर्दैन, जसरी पनि ल्याउनेछौँ ।’ उनले उक्त ऐनमाथि धेरैपटक छलफल भएको भन्दै ऐन आउनेमा विश्वस्त हुन आग्रह गरे । 

मन्त्री मोदीले आगामी साउनदेखि कर्मचारी समायोजनलाई कडाइका साथ लागु गर्ने प्रतिबद्धता व्यक्त गरे । 

‘विकट र अति दुर्गम ठाउँमा कर्मचारीको अभाव छ,’ उनले भने, ‘तर, सुगममा राज्यले तलब खुवाउन नसक्ने गरी करार र समायोजन भए पनि जाने कर्मचारी अत्यधिक छन् । साउन १ गतेदेखि समायोजनमा अझ कडाइ गरिनेछ ।’ 

उनले एक लाख ३७ हजार कर्मचारीमध्ये संघ अन्तर्गत ५३ हजार कर्मचारी समायोजन गरेको बताए । रासस

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १४:१३
Weather Update