
काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताएका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्री किरातीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको बताए ।
‘दुर्गम क्षेत्रमा संख्यात्मक हिसाबले धेरै विमानस्थलहरू निर्माण भएका छन् । तर, त्यस क्षेत्रमा उड्ने हवाईजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि प्रश्न उठ्नु स्वभाविक हो । त्यस क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित देखिँदैन,’ उनले भने, ‘यसै तथ्यलाई मध्यनजर गरी नेपाल वायुसेवा निगमले तीनवटा साना जाहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । जहाज खरिद मेरो निजी स्वार्थको विषय हुँदै होइन । राष्ट्रिय आवश्यकता हो ।’
कुन प्रक्रियाबाट खरिद गर्ने भन्ने निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा भएको उल्लेख गर्दै आफूले नेपालको प्रचलित कानुनअनुसार पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए ।
देशका विभिन्न स्थानमा विमानस्थल निर्माणको माग भएको उल्लेख गर्दै विमानस्थलको संख्या थप्ने भन्दा पनि सेवा र गुणस्तर बढाउनेमा जोड दिनुपर्ने उनको भनाइ छ ।