News Griha :: न्यूजगृह
राजदूत नियुक्ति प्रक्रिया तत्काल टुंगिनेछ : परराष्ट्रमन्त्री साउद

काठमाडौं— परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन् । 

बिहीबार राष्ट्रिय सभाको बैठकमा मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्यान्ड, यूएई र कुवेत गरी ७ स्थानमा राजदूत पद रिक्त रहेको बताए । उनले राजदूत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेको जानकारी दिए । राजदूत नियुक्ति ५० प्रतिशत परराष्ट्र भित्रबाट र ५० प्रतिशत परराष्ट्र बाहिरबाट गरिने उनको भनाइ छ । ‘यो प्रक्रिया तत्काल टुंगिनेछ भन्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भने । 

मन्त्री साउदले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरूले उच्च प्राथमिकता राखेका बताए । विदेशमा रहेका नेपालीहरूको हकहितको सुरक्षा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन विदेशस्थित नेपाली नियोगहरूको भूमिकालाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए । मन्त्री साउदले नियोगहरूलाई साधन, स्रोत सम्पन्न बनाउँदै लगिने प्रतिबद्धता व्यक्त गरे । 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ११:२९
Weather Update