
काठमाडौं— परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले नेपाल असंलग्न परराष्ट्र नीतिबाट विचलित नभएको स्पष्ट पारेका छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा भएको छलफलका क्रममा नेपालले अन्तर्राष्ट्रिय मामिलामा निर्वाह गर्दै आएको असंलग्न परराष्ट्र नीतिबाट विचलित भएको भन्दै सांसदहरूले प्रश्न गरेका थिए ।
सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै साउदले नेपालको संविधानले तय गरेको परराष्ट्र नीति सञ्चालनका मूलभूत आधारमा नै असंलग्न परराष्ट्र नीति रहेको र सोही नीतिअनुसार नै विचलित नभइ चल्ने जानकारी गराए ।
उनले भने, ‘गुण र दोषको आधारमा अन्तर्राष्ट्रिय मामिलामा स्वतन्त्र धारणा बनाउने, मतदान गर्ने तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई न्यायपूर्ण, निष्पक्ष, उत्तरदायी र सहयोगात्मक बनाउने नेपालको कूटनीतिक प्रयास उन्मुख छ ।’
उनले अन्तर्राष्ट्रिय मामिलाका सम्बन्धमा नेपालले लिएको स्वतन्त्र, निष्पक्ष, सन्तुतिल तथा वस्तुनिष्ठ नीतिकै कारण अन्तर्राष्ट्रिय जगत्मा नेपालको विश्वसनीयता र सम्मान आर्जन गरेको भन्दै नेपालले असंलग्न परराष्ट्र नीतिको अवलम्बन अटुट रूपमा गरिरहने प्रतिबद्धता जनाए ।
हालै अजरबैजानको बाँकुमा सम्पन्न मन्त्रीस्तरीय नन अलाइनमेन्ट मुभमेन्टमा सम्बोधन गर्दा असंलग्न आन्दोलनको महत्व र सान्र्दभिकतालाई थप उजागर गर्न नेपालको प्रतिबद्धता जाहेर गरेर आएको भन्दै उनले भने, ‘मैले हालै सम्पन्न उक्त भ्रमणमा पनि विश्वका जल्दाबल्दा राजनीतिक तथा आर्थिक मुद्दाको समाधानका लागि असंलग्न आन्दोलनमा आबद्ध सदस्य राष्ट्रहरूको ऐक्यबद्धता र सहकार्यमा जोड दिएको थिए । तसर्थ असंलग्न परराष्ट्र नीतिको अवलम्बनतर्फ नेपालको प्रतिबद्धता अटुट रहेको स्पष्ट पार्छु ।’