News Griha :: न्यूजगृह
ट्राफिक नियम उल्लंघन गर्ने झन्डै नौ लाख सवारीसाधन कारबाहीमा

काठमाडौं— ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गर्ने आठ लाख ७६ हजार एक सय ४१ सवारीसाधनलाई कारबाही गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक वर्षमा काठमाडौं, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरिएको जानकारी दिए ।

कारबाही गरिएकामध्ये लेन उल्लंघन गर्ने ३८ हजार तीन सय ६२, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ५३ हजार ६४, रातोबत्ती बलेको बेला सवारीसाधन चलाउने २८ हजार नौ सय ३२ कारबाहीमा परेका छन् ।

त्यस्तै तीव्र गतिमा ५६ हजार पाँच सय २४, जथाभावी पार्किङ गर्ने एक लाख ३६ हजार ३९, आरक्षण सिट प्रयोग नगर्ने सात सय ३६, जथाभावी हर्न बजाउने १४ हजार चार सय ४७, लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक सय ४८ र ओभरलोड प्रयोग गर्ने १६ हजार चार सय ८५ रहेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाडौं उपत्यकाको सवारीसाधन व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा एक हजार आठ सय बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

अहिले देशभर ३० लाखभन्दा बढी गाडी सञ्चालनमा रहेका छन् । तीमध्ये काठमाडौं उपत्यकामा मात्र १२ देखि १५ लाख गाडी सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०६:३६
Weather Update