
काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जलि दिएका छन् ।
कुनै बेला प्रचण्डका सहयात्री रहेका डा.भट्टराईले सीता दाहाल सदाको निम्ति बिदा भए पनि उनीसँगका सम्झना सधैं रहिरहने बताएका छन् । डा.भट्टराईले बुधबार भने,‘क.सीता दाहाल हामीबाट सदाको निम्ति बिदा हुनुभए पनि उहाँको सम्झना हामीसँग सधैं रहिरहनेछ !’
डा.भट्टराईले राजनीतिक रूपले जहाँ भए पनि पारिवारिक र भावनात्मक सम्बन्ध सधैं रहिरहने बताए । उनले भने,‘हामी राजनीतिक रूपले जहाँ भए पनि हाम्रो पारिवारिक र भावनात्मक सम्बन्ध सधैं रहिरहनेछ ! हार्दिक श्रद्धाञ्जलि ! प्रम पुष्पकमल दाहाल प्रचण्ड र सम्पूर्ण शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना ।’
त्यसैगरी डा.भट्टराई पत्नी तथा पूर्वमन्त्री हिसिला यमिले सीता दाहालसँग बिताएका दिनहरूको स्मरण गरेकी छिन् । उनले मुलुकको परिवर्तनमा सीताको योगदान प्रत्यक्ष देख्नेले मात्रै थाहा पाएको बताइन् । सीताले पर्दा पछाडि रहेर आफ्नो भूमिका पूरा गरेको यमिले बताइन् ।
उनले भनिन्,‘क.सीता दाहाल अब हामीबाट सदाका लागि बिदा हुनु भएको छ ! हार्दिक श्रद्धाञ्जलि ! यो परिवर्तनमा तपाईंको योगदान प्रत्यक्ष देख्नेले मात्रै थाहा पाएको छ । सधैं पर्दा पछाडि रहेर आफ्नो भूमिका पूरा गर्नुभयो । तपाईंको महाप्रस्थानमा निकै दुःखी छु ! प्रम पुष्पकमल दाहाल र सम्पूर्ण शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना !’