News Griha :: न्यूजगृह
मातृ शोकमा रहेकी रेनुलाई बालेनले के भने ? 

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नी आमा गुमाएकोमा समकक्षी रेनु दाहाललाई समवेदना प्रकट गरेका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा निधन भएको थियो ।

रेनु भरतपुर महानगरपालिकाकी मेयर हुन् । सोही कारण बालेनले समकक्षी रेनुलाई समवेदना प्रकट गरेका हुन् । बालेनले फेसबुकमा लेखेका छन्, ‘मेयर रेनु दाहालजीले ममतामयी आमा गुमाउनुको पीडाप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’ 

उनले प्रधानमन्त्रीले सहयात्री तथा जीवनसंगिनी गुमाएको भन्दै आफ्नो परिवारलाई सम्हाल्ने क्षमता प्राप्त होस् भन्ने कामना पनि रेनुलाई गरेका छन् ।

मेयर साह लेख्छन्,‘सम्माननीय प्रधानमन्त्रीसमेत रहनुभएका तपाईंका पिताले सहयात्री, जीवनसंगिनी गुमाउनुभएको अवस्थामा तपाईंले परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु ।’

उनले सीता दाहाललाई श्रद्धाञ्जलि व्यक्त गरेका छन् । ‘स्वर्गीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु,’बालेनले लेखेका छन् ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १८:३३
Weather Update