News Griha :: न्यूजगृह
प्रचण्ड पत्नी दाहालको निधनले समाजवादी मोर्चाको बैठक अनिश्चित
फाइल तस्बिर ।

काठमाडौं— समाजवादी मोर्चाको आज बस्ने भनिएको बैठक अनिश्चित भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनले बैठक अनिश्चित भएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । चार दल मिलेर बनेको उक्त समाजवादी मोर्चाको बैठक आज अपराह्न ४ बजेका लागि नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने गरी बोलाइएको थियो ।

आजको बैठकमा मोर्चाले सातै प्रदेशमा गर्न लागेको कार्यक्रमको तयारी र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल तथा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका नेता प्रमेश हमाल, जसपाका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका नेता खड्कबहादुर विश्वकर्मा सहितको कार्यदलले तयार पारेको प्रस्तावमाथि पनि आजको बैठकमा छलफल हुने कार्ययोजना रहेको थियो ।

यही असार २३ गते बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको उद्देश्य र आवश्यकताबारे जानकारी गराउन सातै प्रदेशमा कार्यक्रम गर्ने निर्णय गरेको थियो । साउन पहिलो हप्तादेखि सातै प्रदेशमा मोर्चाको औचित्यबारे जानकारी गराउने गरी कार्यक्रम गर्ने तयारी भएको उपाध्यक्ष पाण्डेयले बताए । 

मोर्चाले यसअघि कार्यदिशा तय गर्न कार्यदलसमेत गठन गरेको थियो । यही असार ४ गते समाजवादी मोर्चा घोषणा गरिएको थियो । मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । रासस

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १३:१५
Weather Update