News Griha :: न्यूजगृह
हाम्रो पार्टीले तीन वटा मन्त्रालयमा दाबी गरेको छ : झलनाथ खनाल

काठमाडौं— नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको हैसियत अनुसार तीन वटा मन्त्रालयमा दाबी गरेको बताएका छन् ।

मंगलबार काठमाडौंको बानेश्वरमा मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अहिले संघीय संसद्‍मा नेकपा एकीकृत समाजवादीसँग १८ सिट रहेकाले पार्टीको हैसियत अनुसार नै मन्त्रालयको सिट माग गरिएको बताएका हुन् ।

सत्ता गठबन्धनका १० दल सरकारमा जाने र मन्त्रालयको सिट २५ रहेकाले दलहरूको भूमिकाका आधारमा मन्त्रिमण्डल बाँडफाँट गर्नुपर्ने उनले बताए । उनले सरकारको पाँच वर्षे नीति कार्यक्रमको योजना बनाएर मात्रै मन्त्रिमण्डल बाँडफाँट गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको उल्लेख गरे ।

नेता खनालले मिटरब्याज पीडितहरूको माग जायज रहेको भन्दै आन्दोलनमा समर्थन रहेको बताए । उनले मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने समेत बताए ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १७:३६
Weather Update